पूर्वराष्ट्रपति यादवलाई क्यान्सर, थप ६० लाख उपचार खर्च दिने निर्णय
काठमाडौं, १३ भदौ। पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवलाई क्यान्सर भएको छ। हालै भारतमा गरिएको स्वास्थ्य परीक्षणको क्रममा यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो।
थप उपचारका लागि उनी अमेरिका जाने तयारीमा छन्। उनको निजी सचिवालयका अनुसार यादवको सेप्टेम्बर तेस्रो हप्ता हेनरीफोर्ड सेन्टरमा उपचार हुनेछ।
पूर्व राष्ट्रपति यादवको उपचारका लागि सरकारले थप ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ। यो रकम पेश्कीमात्र हो। यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ। चिकित्सकहरूका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ।
यसअघि भारतमा उपचार गराउन जाने क्रममा पनि सरकारले १० लाख रुपैयाँ दिएको थियो। यद्यपि नेहरू अस्पतालले निःशुल्क उपचार गरिदिएको थियो। उक्त अस्पतालको शिक्षण अस्पतालमा यादव आफैंले अध्ययन गरेका थिए। सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्चबाहेक जाने–आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिनेछ। साथै उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारको निर्णय छ।
यादव राष्ट्रपति रहेकै बेला क्यान्सरको आशङ्का गरेपछि परीक्षणका लागि सरकारले जापान पठाएको थियो। तर, त्यसबेला उक्त आशङ्का गलत भएको परीक्षणबाट पुष्टि भयो।
नेहरू अस्पतालमा परीक्षणको क्रममा पूर्वराष्ट्रपति डा. यादवलाई क्यान्सरको पुष्टि भएको छ। चिकित्सकहरूका अनुसार शल्यवि्र्कयापश्चात् उनको क्यान्सर निको हुनेछ। नभए सङ्क्रमण फैलिने खतरा हुन्छ।
|