September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सीमा बाँध अवलोकन भ्रमण सम्पन्न

बुटवल, १३ भदौ। नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको आयोजनामा भारतले नेपालको सीमा मिचेर तथा अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनाइएको बाँध अवलोकन भ्रमण सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी सम्पन्न भयो। 

पत्रकार सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला अध्यक्ष हरिसुन्दर वासीले देशको सार्वभौमिकता, भू–अखण्डता र स्वाधिनता जोगाउन युवाहरू अझ सशक्त र जुझारु भएर आन्दोलित हुनुपर्ने बताउनुभयो। 

भारतीय विस्तारवादको अतिक्रमणमा परी सीमा क्षेत्रका जनताले भोगेको दुःख पीडा अवलोकन भ्रमणबाट प्रत्यक्ष थाहा पाएको विषयलाई व्यापक नेपाली जनतामाझ लानुपर्नेमा जोड दिंदै केन्द्रीय सदस्य वासीले भारतको नदी जोड योजनाअन्तर्गत सिङ्गो तराईलाई डुबानमा पर्ने गरी बाँध बनाइरहेकोले ती बाँधहरू भत्काउनुपर्छ भन्नुभयो। 

सीमा अतिक्रमण भइरहेको, सीमा क्षेत्रका जनताले यातना पाइरहेको र आपराधिक गतिविधिमा संलग्न अपराधीहरूले सीमामा वारपार गरिरहेकाले नेपाल–भारत सीमा नियमन गर्नुपर्ने बताउँदै केन्द्रीय सदस्य वासीले नेपाल–भारत सीमा नियमन गर्न नेमकिपाका सांसदहरूले संसदमा दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुनुपर्नेमा जोड दिनुभयो। 

भ्रमण टोली नेता एवं नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय उपाध्यक्ष राजवीर डङ्गोलले सीमा मिचेर भारतद्वारा बनाइएको बाँध भत्काउने सप्तरीका देशभक्त जनताको सङ्घर्षलाई समर्थन गर्न अवलोकन भ्रमण आयोजना गरेको बताउनुभयो। भदौ ९ गते कोसी व्यारेजबाट सुरु भएको अवलोकन भ्रमण १० गते सप्तरीको टिलाठी, ११ गते रौतहटको गौर तथा पर्साको ठोरी, १२ गते नवलपरासीको गण्डक बाँध र १३ गते रुपन्देहीको रसियावाल खुर्दलोटन बाँधमा पुगेर फर्केको चर्चा गर्दै उपाध्यक्ष डङ्गोलले भारतीय अतिक्रमण र नेपाली डुबान भूमि देखेर युवाहरू स्तब्ध भएको बताउनुभयो। 

देशको सीमा जोगाउन र सीमा क्षेत्रका जनताको न्यायको लागि नेपाल मजदुर किसान पार्टीका अग्रजहरूलेे २५/२६ सालदेखि आन्दोलन गरिरहेको चर्चा गर्दै उपाध्यक्ष डङ्गोलले टिलाठीदेखि खुर्दलोटन सीमा बाँध अवलोकन भ्रमणले नेक्रायुसङ्घको आन्दोलनलाई दरिलो बनाउन थप ऊर्जा मिलेको बताउनुभयो। 

नेक्रायुसङ्घका केन्द्रीय सहसचिव पाण्डव सुवालले पनि बोल्नुभएको सो पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य घनश्याम पाण्डेले स्वागत गर्नुभयो।