September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

विदेशी पूँजीले सार्वभौमिकतामा हस्तक्षेप गर्ने

काठमाडौं, १३ भदौ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतमा प्रगतिशील सरकार नभएसम्म दक्षिण एसियाका जनताले सुख नपाउने उल्लेख गर्दै भारतले दक्षिण एसियालाई आफ्नो सुरक्षा छातामा राख्न चाहेको बताउनुभयो।  

संसदमा पेश भएको ऊर्जा सहयोगका लागि सार्क प्रारूप सम्झौता (विद्युतीय) मा विचार राख्दै सांसद सुवालले सो सम्झौता दक्षिण एसियामा आफ्नो प्रभाव बनाउन भारतले चरा मार्न कनिका छरेको जस्तै भएको उल्लेख गर्नुभयो।  

उहाँले सो सम्झौताले भारतबाहेक सार्कका अन्य देशहरूलाई फाइदा नहुने विचार राख्दै भारत र भुटानले मात्र सम्झौता अनुमोदन गरेको र अन्य देशहरूले नगरेकोले नेपालले पनि अनुमोदन गर्न नहुने उल्लेख गर्नुभयो।  

संसदमा सो सम्झौताबारे अन्य कुनै पार्टीले विचार राखेनन् र सम्झौता निर्णयार्थ बैठकमा प्रस्तुत हुँदा नेमकिपाका सांसदहरूले विपक्षमा मत दिनुभयो।  

सांसद सुवालले उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदनसहितको विशेष आर्थिक क्षेत्र विधेयक, २०७१ बारे विचार राख्दै सो विधेयक वैदेशिक लगानी आकर्षित गर्न लगाइएको तर वैदेशिक लगानीसँगै विदेशी सेना पनि आउने हुँदा अन्ततः नेपालको अर्थतन्त्र कमजोर भई देशको सार्वभौमिकतामा आँच पुग्ने उल्लेख गर्नुभयो।  

उहाँले चीन र भारतको अर्थतन्त्र विदेशी पूँजीलाई खान सक्ने तर नेपालको अर्थतन्त्रलाई विदेशी पूँजीले खाने हुँदा बालीमा साँढे पसेजत्तिकै विदेशी पूँजी पस्ने प्रावधानसहितको विशेष आर्थिक क्षेत्र विधेयक ल्याउन नहुनेमा जोड दिंदै देशको अर्थतन्त्र बलियो बनाउन शिक्षा र स्वास्थ्य निःशुल्क, स्वदेशमा रोजगार, उत्पादनका मुख्य मुख्य साधन र सेवाहरू सामाजिकीकरण, सम्पत्तिको सीमा निर्धारण, विदेशमा सम्पत्ति राख्न नपाउने प्रावधानसहितको विधेयक ल्याउनु पर्ने आवश्यकता औंल्याउनुभयो।सो विधेयक संसदमा निर्णयार्थ पेश हुँदा पार्टीका सांसदहरूले विपक्षमा मत दिनुभएको थियो।  

सांसद सुवालले संसदको शून्य समयमा नेपाल आउने विदेशीहरू भिसा समयभन्दा बढी बस्ने र फौजदारी अभियोगमा जेल पर्ने बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै गतवर्ष नेपालीसँग विवाहको लागि ११४० विदेशी नेपाल आएको तथ्याङ्कले भोलि कुन देशका ज्वाइँ वा बुहारी नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सेना र प्रहरी प्रमुख हुने हो प्रश्न उठेको हुँदा यसको नियन्त्रण गर्न सरकार लागिपर्नुपर्ने उल्लेख गर्नुभयो।  

पार्टीका अर्का सांसद अनुराधा थापामगरले संसदको विशेष समयमा बोक्सीको आरोपसम्बन्धी ऐन बनेको एक वर्षपछि पनि बोक्सीको आरोपमा बाँके नौवस्ता टिलकपुरकी डण्डी थारूको हत्या हुनु र मास हिस्टेरिया भएका किशोरीहरूको उपचारको नाममा लमजुङमा पूजा पाठ हुनुमा आजसम्मका सरकारहरू दोषी भएको उल्लेख भन्नुभयो।  

सांसद थापामगरले प्रमुख जिल्ला अधिकारीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको कार्यक्रममा संलग्न हुन रोकलगाएजस्तै पतञ्जली योग केन्द्रमार्फत योग जिल्ला घोषणामा पनि रोक लगाउन सरकारले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।