देकोचामा बाल्टिन वितरण
भक्तपुर, १४ भदौ। घरघरको फोहर कुहिने र नकुहिने वस्तुमा छुट्याई सङ्कलन गर्न बाल्टिन वितरण तथा अभिमुखीकरण कार्यक्रम देकोचा बाटो स्तरोन्नति समिति र भक्तपुर नगरपालिकाको संयुक्त आयोजनामा जेन्यूइन स्कूलको हलमा सम्पन्न भयो।
कार्यक्रममा भनपा–४ का जननिर्वाचित वडाध्यक्ष चन्द्रबहादुर उलकले जीउ भए घ्यू खान पाइन्छ, भन्ने उखान प्रस्तुत गर्दै सरसफाइले हाम्रो जीउ जोगिन्छ तर जथाभावी फोहर गरे बिरामी भइन्छ औषधि उपचार खर्चले देशको पैसा भारत वा विदेशमा जान्छ र निरोगी बनेमा पैसा पनि बच्छ भन्नुभयो। उहाँले भक्तपुरमा पहिले–पहिले झाडापखला र हैजाले मसानघाटमा ठाउँ नहुने गरी धेरै मान्छे मरेको स्मरण गर्दै सरसफाइले मानिसको ज्यान जोगिन्छ भन्नुभयो।
कार्यक्रम देकोचा बाटो स्तरोन्नति समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेंले सभापतित्वको आसनबाट बोल्दै सरसफाइमा नगरपालिकाको बढी बजेट खर्चिनु परेको बताउँदै नगरबासीले व्यवस्थित रुपमा सफाइ गरिदिए सफाइको खर्चले विकास निर्माण गर्न पाउने बताउनुभयो।
कार्यक्रममा नगरपालिकाका श्यानिटेशन उपशाखा प्रमुख दिलिपकुमार सुवाल र वडा निरीक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नुभयो।
कार्यक्रममा नपाको तर्फबाट स्थानीयलाई बल्छिन वितरण गरिएको छ। |