मेडिकल कलेजद्वारा प्राविका विद्यार्थी 'बन्धक'
काठमाडौं, १५। काठमाडौं मेडिकल कलेज केएमसीले लाइसेन्स रिन्यू गर्न आवश्यक सङ्ख्या पुर्याउन छिमेकी विद्यालयका विद्यार्थीलाई 'बन्धक' बनाएको छ। चाँगुनारायण नगरपालिका वडा नं. १२ दुवाकोटमा रहेको उक्त अस्पतालले उपचारको निहुँमा प्राथमिक तहका विद्यार्थीलाई बन्धक बनाएको हो। केएमसीले दुवाकोटको फैढोका गणेशस्थित गणेश प्राथमिक विद्यालयका एक दर्जन विद्यार्थीलाई उपचारको लागि भन्दै रातभर राखेर भोलिपल्ट मध्यान्ह १२ बजे विनाउपचार फर्काएको छ।
अस्पतालले १, २, ३ र ४ कक्षामा अध्ययनरत विद्यार्थीलाई गत बुधबार (भदौ ८ गते ) साँझ लगेर रातभरी नक्कली बिरामी बनाई राखेको विद्यार्थीका अभिभावकले जानकारी दिए।
अस्पतालले विद्यार्थीलाई 'बन्धक' बनाउनुको मुख्य कारण नवीकरणको लागि नक्कली बिरामी देखाउनु रहेको स्थानीयले आरोप लगाएका छन्। अस्पतालले यसअघि पनि यसैगरी स्थानीयलाई लगेर बेडमा सुताउने र केही समयपछि फर्काउने गरेको उनीहरूले बताए। 'अस्पताल ठीक छ छैन भन्ने अनुगमन गर्न आउने सरकारी टोलीलाई छक्याउन पो हामीलाई त्यसरी बोलाउँदा रहेछन्। हामीलाई के थाहा चेक गर्छौ भनेपछि होला त नि भनेर हामी जान्थ्यौं यसपटक विद्यार्थीलाई त्यसै गरेछ, एक स्थानीयले भने।
अस्पताल पुगेका विद्यार्थीले आफूहरूको कुनै चेक जाँच नभएको बरू अस्पतालका कर्मचारीले नाम र ठेगाना टिपेको बताए।
स्कूलबाट फर्किएपछि अस्पतालमा गएको कक्षा २ र ३ मा पढ्ने किरण र दिलप्रसाद सुनुवारले बताए। 'स्कूलबाट फर्किएपछि तिमीहरू केएमसी अस्पताल जानु, त्यहाँ अस्पतालमा मीठो मीठो खानेकुरा खान दिन्छन् भनेर हेडसरले भन्नु भए पछिहामी गयौं' कक्षा ३ का दिलप्रसादले भने।
केएमसी पुगेका अधिकांश विद्यार्थीले हेडसरले जानू भनेपछि आफूहरू गएको स्वीकारेका छन्।
केएमसीमा पुगेका विद्यार्थीले आफूहरूलाई रातभर हस्पिटलको बेडमा सुताएको र आफूहरूमध्ये केहीलाई हल्ला गरेको भन्दै अस्पतालका सुरक्षा गार्डले पिटेको सुनाए।
विद्यालयका प्रधानाध्यापक नारायण प्रधानले केएमसीले उपचारका लागि बच्चाहरूलाई पठाउन पत्र पठाएपछि आफूले नै जान भनेको स्वीकारे।
विद्यालयबाट छुट्टी भएर घर फर्किएका बच्चाहरू राती नौ बजेसम्म पनि नफर्किए पछि अभिभावक अत्तालिएका थिए।
प्रअ प्रधानले अभिभावकहरूलाई जानकारी दिएर विद्यार्थीलाई पठाएको बताए पनि अभिभावकहरू भने त्यसको कुनै जानकारी नभएको दावी गर्छन्।
अस्पतालका सहायक निर्देशक डा. विनिता प्रधानले भने अस्पतालको स्कूल हेल्थ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई चेकजाँचको लागि बोलाएको बताइन्। उनले स्कूलसँगै अनुमति लिएर विद्यार्थीलाई डाकेको जानकारी दिइन्। बच्चाहरूलाई विशेष स्वास्थ्य उपचार दिनको लागि एकरात अस्पतालमै राखिएको उनको दावी छ।
डा. प्रधानले विद्यार्थीको जाँच गरिएको दाबी गर्दै जाँच रिपोर्ट अस्पतालमै सुरक्षित राखिएको जानकारी दिइन्। उनले स्थानीयले भनेजस्तै गरी अस्पताल रिन्यूका लागि नभएर गरिब र न्यून आय भएका व्यक्तिहरूको उपचारको लागि त्यसरी राखेको बताइन्। तर विद्यार्थीले भने आफूहरूको स्वास्थ्य जाँच नै नगरेको बताएका छन्। जाँच गरेको कुनै पूर्जी नदिएको अभिभावकको भनाइ छ।किरण अहिले ७ वर्ष र दिलप्रसाद (माइला) ११ वर्षको भयो। हामी यहींको गाई फार्ममा काम गर्छौं, त्यो दिन पनि म र श्रीमती आ–आफ्नै काममा व्यस्त थियौं, सधैंजस्तै बच्चाहरू आए होलान्, कहीा खेल्न गए होलान् भन्ने लाग्यो, आठ बजिसक्यो, आएनन, यताउति सबैतिर खोज्यौं, भेटिएन, नौबज्दा पनि आएनन्, कहाँ गयो होला भनेर हामीले खाना पनि खान सकेनौं, रातभर निद्रा लागेन, चिनेजानेका सबैलाई सोध्यौं, कोहीले पनि देखेको छैन भने। श्रीमतीले रोएरै रात बिताइन्।
के गर्ने? कसो गर्ने? भन्ने भयो, निकै चिन्ता लाग्यो। बिहान छोराहरू हराएको कुरा फार्मको साहुजी (राम न्यौपाने) लाई भन्यौं। राम दाइ पनि छानाबाट खसेको जस्तै हुनुभयो। उहाँले ल चिन्ता नगर हामी सबै मिलेर खोज्छौं भनेर भन्नुभयो। उहाँलाई पहिले पहिले पनि केएमसीले अभिभावकलाई भन्दै नभनी बच्चाहरू लग्ने गरेकोे थाह रहेछ क्यारे। उहाँ त्यतातिर लाग्नुभयो।
फार्ममा काम गर्नेहरूले बिहानै मलाई रूँदै छोराहरू हराएको बताए। म पनि छक्क परें, त्यसपछि मैले उनीहरूलाई चिन्ता नलिन भन्दै केएमसीतर्फ लागेा। केएमसीमा पुग्ने
बित्तिकै मैले त्यहाँको गार्डसँग यहाँ हिजो बच्चाहरू ल्याएका थिए कि भनेर सोधें, गार्डले बच्चाहरू ल्याएको जानकारी दिए। किन ल्याएको नि? मैले थप सोधेा, खै, किन ल्याएको भन्ने त थाहा भएन तर हामीलाई चाहिं बच्चाहरूलाई भाग्न नदिनू भनेर भनेका छन्।' गार्डले भने।
त्यसपछि म अस्पताल प्रशासन फाँटमा गएर बुझें, कोहीले पनि वास्ता गरेनन्। यहाँ बच्चाहरू ल्याएका छन्? भनेर सोध्दा पनि जवाफ दिएनन्। म भने कहाँ राखिएका रहेछन् भनेर बच्चा खोज्नतिर लागें। त्यही क्रममा एउटा कोठामा ६/८ जना बच्चाहरू बेडमा सुताइरहेको देखें।
अझ २ जना बच्चालाई त बेडमा नभएर बेडमुनि चिसोमा सुताइएको थियो। तिनीहरू मध्ये किरण र दिलकुमार मेरो फार्ममा काम गर्ने कामदारका छोराहरू रहेछन्। अरू एक दुई जना यहीं मजदुरी गरेर गुजारा गर्नेहरूका सन्तानहरू पनि देखें।
– इडु खबर अनलाइनबाट
|