September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

पुस्तकालय दिवस: प्रमुख पुस्तकालयहरू अझै व्यवस्थित भएनन्

काठमाडौं, १५ भदौ। २०७२ वैशाख १२ र त्यसपछिका भूकम्पले काठमाडौै उपत्यकामा रहेका अधिकांश प्रमुख पुस्तकालयका भवन भत्किएपछि त्यहाँ रहेका पुस्तकलाई अझै व्यवस्थित गर्न सकिएको छैन। 

हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालयको भवन क्षतिग्रस्त हुँदा त्यहाँ रहेका करिब एक लाखभन्दा बढी पुस्तक बोरामा हालेर राखिएका छन्। पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले लामो समय बोरामा पुस्तक राख्दा बिग्रन सक्ने भएकोले भाडामै घर लिएर भए पनि पुस्तकालय सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'सरकारले वैकल्पिक व्यवस्था नगरिदिएकोले हामीले पुस्तक जोगाउन अन्य उपाय अपनाउन सकेका छैनौं।” 

उक्त पुस्तकालयमा करिब ३०० वर्षभन्दा पुराना महत्त्वपूर्ण पुस्तक रहेका छन्। ती पुस्तक ज्ञानेश्वरस्थित महेन्द्र भवन उच्च माविमा बोरामा हालेर राखिएका छन्। उक्त पुस्तकालयमा सञ्चालित बाल शाखामात्र अहिले सञ्चालनमा रहेको छ। 

यसैगरी भूकम्पपछि केशरमहलस्थित केशर पुस्तकालय पनि सञ्चालनमा आउन सकेको छैन। उक्त पुस्तकालयमा रहेको करिब ६५ हजार पुस्तक अलपत्र अवस्थामा एउटै कोठामा थुपारिएको छ। पुस्तकालय बाहिर पाल टाँगेर पाठकलाई बस्ने व्यवस्था मिलाइए पनि पुस्तक पढ्ने व्यवस्था भने मिलाउन नसकिएको पुस्तकालयका प्रमुख दशरथ मिश्रले बताउनुभयो। 

उहाँले भन्नुभयो, 'भूकम्पलगत्तै वर्षात्का कारण पानी चुहिएर हामीले पुस्तक बोरामा राखेका थियौा। अहिले माथिल्लो तलाबाट तल्लो तलामा रहेका दुई वटा कोठामा पुस्तक र्‍याकमा सुरक्षित तरिकाले राखेका छौं। तर अझै पाठकको लागि पढ्ने व्यवस्था मिलाउन भने सकेका छैनौं।' उक्त पुस्तकालयमा पुस्तक, जर्नल, म्यागाजिन, पत्रपत्रिका गरी ६५ हजारभन्दा बढी पुस्तक छन्। 

केशरशमशेरले आफ्नो निजी सोखका रूपमा अमेरिका, बेलायत, जर्मनीलगायतका मुलुकबाट सङ्कलन गरिल्याएका पुस्तकलाई पुस्तकालय बनाएर राखेका थिए। विसं २०२६ मा उनले नेपाल सरकारलाई उक्त पुस्तकालय हस्तान्तरण गरेका थिए। 

त्रिभुवन विश्वविद्यालयमा रहेको केन्द्रीय पुस्तकालयको अवस्था पनि उस्तै छ। भूकम्पका कारण पुस्तक मिलाएर राखिएको र्‍याक क्षतिग्रस्त भएपछि अहिले पुस्तक भुइँमा नै अलपत्र अवस्थामा छन्। पुस्तकालयका अनुसार दैनिक एक हजारभन्दा बढी पाठक आउने पुस्तकालयलाई अझै व्यवस्थित गर्न सकिएको छैन। उक्त पुस्तकालयमा करिब पाँच लाखभन्दा बढी पुस्तक छन्। 

शिक्षा मन्त्रालयका अनुसार नेपालभर करिब ४० हजारभन्दा बढी पुस्तकालय रहेकामा भूकम्पका कारण ६० भन्दा बढी पुस्तकालयमा क्षति पुगेको थियो। 

नवौं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बुधबार शिक्षा मन्त्रालयले पहिलो पटक पुस्तक नीतिको मस्यौदा सार्वजनिक गरेको छ। पुस्तकालय दिवसका अवसरमा आयोजित एक कार्यक्रममा शिक्षामन्त्री धनिराम पौडेलले उक्त नीतिको मस्यौदा सार्वजनिक गर्नुभएको थियो। मन्त्री पौडेलले सरोकारवालासँगको छलफलपछि पुस्तक नीति ल्याउने मन्त्रालयको तयारी रहेको बताउँदै पुस्तक छपाइ र बिक्री वितरणलाई व्यवस्थित गर्न पुस्तक नीति ल्याइन लागेको जानकारी दिनुभयो। 

हालसम्म कसले पुस्तक छाप्ने?, कसरी छाप्ने?, कति छाप्ने? र कोमार्फत बिक्री वितरण गर्ने? जस्ता विषयमा आवश्यक मापदण्ड नहुँदा पुस्तक छपाइ तथा बिक्री वितरणमा मनपरी हुँदै आएको छ। 

पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलकै कार्यकालमा पुस्तक नीतिको मस्यौदा तयार गर्ने काम सुरू भएको थियो। यसका लागि हरिगोविन्द लुइँटेलको संयोजकत्वमा पुस्तक नीति मस्यौदा समिति गठन गरिएको थियो। सोही समितिले मस्यौदा तयार पारी मन्त्रालयमा बुझाएको हो। पुस्तक नीति आएपछि पुस्तकको छपाइ प्रक्रिया कानुनी दायरामा आउने मन्त्रालयको अपेक्षा रहेको छ।