समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं, १६ भदौ। व्यवस्थापिका–संसद्को बिहीबार बसेको बैठकमा सांसदहरूले आफ्ना क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो।
विशेष समयमा सांसद अनिता देवकोटाले राप्ति उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्न स्तरोन्नतिका साथै आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्न माग गर्नुभयो।
सांसद काशीनाथ अधिकारीले मुलुकमा चरम ऊर्जा सङ्कट सम्बोधन गर्न अघिल्लो सरकारले अघि सारेको कार्ययोजना किन कार्यान्वयन गरिएन भनी प्रश्न गर्नुभयो।
सांसद अग्निप्रसाद सापकोटाले सरकार र व्यवसायीबीचको द्वन्द्वका कारण बसको यात्रा त परै जाओस् ट्रक र ट्र्याक्टरमा समेत बसेर लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यताले जनताले निकै सास्ती झेल्नु परिरहेको सदनलाई जानकारी गराउनुभयो।
सांसद कान्ता भट्टराईले गहन अध्ययन नभई नेपाली भाषामा सुधार र परिमार्जनका नाममा व्याकरण परिवर्तन गर्दा शिक्षक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको बताउँदै सदनमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो।
सांसद डा. सुबोधकुमार पोखरेलले चुरे क्षेत्रको वन विनासले तराईका जिल्लामा खडेरी भएको बताउनुभयो। सांसद जङ्गीलाल रायले तराई मधेसमा ठूलो जनसङ्ख्याले संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने बताइरहेका बेला त्यसअघि नै संविधान संशोधनको विकल्प नभएको विचार व्यक्त गर्नुभयो। सांसद नरसिंह चौधरीले स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगको पुनःसंरचनाको कामको औचित्यमाथि नै प्रश्न गर्नुभयो। अनुराधा थापामगरले केही व्यक्तिले आफू खुसी नेपाली भाषामा परिवर्तन गर्न खोजेकाले जटिलता उत्पन्न भएको विचार व्यक्त गर्दै यस बारेमा छानबिन गर्न समिति गठनको माग गर्नुभयो। सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका बारेमा भारतीय प्रधानमन्त्रीलाई लेखेेको पत्रका बारेमा जानकारी माग गर्दै सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालले संविधान संशोधन गर्न छिमेकीलाई किन सोध्नुपर्ने भनी प्रश्न गर्नुभयो। उहाँले यसबारेमा प्रधानमन्त्रीले संसद्मा आएर जानकारी गराउनुपर्ने माग गर्नुभयो। सांसद जनकराज जोशीले पूर्व विशिष्टलाई दिने सेवा, सुविधा र सुरक्षासम्बन्धी विधेयक अघि नबढेकामा आपत्ति जनाउँदै विधेयक तत्काल अघि बढाउन गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।
सांसद अञ्जना ताम्लीले सूचना र प्रविधिको २१ शताब्दीमा पनि नेपालका सञ्चारकर्मीले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नपाएको सम्बन्धमा सदनमार्फत सूचना तथा सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।
साथै उहाँले द्वन्द्वकालमा ग्रामीण क्षेत्रबाट विस्थापित भएका कृषि विकास बैङ्क पुनःस्थापना गर्न माग गर्नुभयो। सांसद मुक्तिप्रसाद पाठकले बुटवल पावर कम्पनीबाट उत्पादित विद्युत्को आवश्यक छलफल नगरी गरिएको विद्युत् महसुल वृद्धिले सर्वसाधारण जनतामा समस्या परेको भन्दै समाधानका लागि ऊर्जा मन्त्रालय र सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो।
सांसद उमेशकुमार यादवले सप्तरीको अस्पतालमा गलत उपचार भएको उदाहरण दिंदै त्यस सम्बन्धमा गलत गर्नेलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद रेशमबहादुर बानियाँले संसद्को दैनिक कार्यसूचीका बारेमा नियमावलीमा भएबमोजिम आफूहरूले एक दिनअघि पाउनुपर्ने दैनिक कार्यसूची नपाएको गुनासो गर्दै कार्यसूचीका बारेमा आवश्यक अध्ययन र जानकारी लिने काम हुन नपाएको गुनासो गर्नुभयो।
सांसद रश्मी ठाकुरले पूर्व विशिष्ट व्यक्तिले स्वदेशमा उपचारको व्यवस्था हुँदाहुँदै पनि विदेश जानुको अर्थ के भनी प्रश्न गर्नुभयो। उहाँले सर्वसाधारणको उपचार स्वदेशमा हुने तर विशिष्टको किन नहुने भन्दै विशिष्टले विदेशमा गर्ने उपचार खर्चले स्वदेशमै सुविधाजनक अस्पतालको व्यवस्था गर्न सकिने धारणा राख्नुभयो।
सांसद आनन्दप्रसाद पोखरेलले पोखरा जाने क्रममा चितवन दुर्घटनामा परी त्रिशूली नदीमा बेपत्ता भएका सप्तरीका सातजनामध्ये दुईजनाको मात्र शव भेटिएको जानकारी गराउँदै तत्काल खोजीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।
सांसद योगेन्द्र तामाङ घिसिङले स्थानीय निकायको निर्वाचन गर्न राष्ट्रियस्तरमा बृहत् छलफल हुनुपर्ने बताउादै आदिवासी/जानजाति, दलितलगायत पिछडिएका समुदायका लागि संरक्षित संरचना हुनुपर्ने माग गर्नुभयो। यसअघि शून्य समयमा भाग लिने अधिकांश सांसदहरूले मुलुकमा व्याप्त अनियमितता, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।
|