नेपाल–जापान कूटनीतिक सम्बन्धको साठीऔं वार्षिकोत्सव
काठमाडौं, १६ भदौ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवका अवसरमा नेपाल सरकारद्वारा बिहीबार यहाा एक विशेष समारोह आयोजना गरियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्का सदस्य, जापानका विदेश राज्यमन्त्री नोबो किसी तथा उहाँले नेतृत्व गर्नुभएको जापानी प्रतिनिधिमण्डल, यहाँस्थित कूटनीतिक नियोग तथा नेपालको विकासका साझेदार संस्थाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, नेपालका कूटनीतिक वर्ग र समाजका प्रतिष्ठित व्यक्तित्वको उपस्थितिमा भएको उक्त समारोहको उद्घाटन गर्नुभयो।
त्यस अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेश कुमार कार्की र राज्यमन्त्री किसीले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वार्षिकोत्सवलाई स्मरणीय तुल्याउन हुलाक सेवा विभागले प्रकाशन गरेको संस्मरणात्मक हुलाक टिकटमा प्रकाशनको प्रथम टाँचा लगाउनुभयो।
समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आपसी विश्वास र सहयोगमा आधारित नेपाल र जापानबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै नेपालको सामाजिक एवम् आर्थिक विकास प्रयासमा जापानबाट निरन्तर प्राप्त सहायताको सराहना गर्नुभयो।
भौतिक पूर्वाधार विकास, कृषिको आधुनिकीकरण र मानव संसाधन विकास, हवाई सुरक्षा, विद्यालय क्षेत्र सुधारलगायत नेपालको सामाजिक–आर्थिक विकासका क्षेत्रमा जापानबाट प्राप्त सहयोग सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँले सांस्कृतिक एवम् ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई जोडेका बताउनुभयो।
उहाँले भन्नुभयो – “बितेका ६० वर्षमा हामीले धेरै प्रगति गरेका छौं। द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा निकट सम्पर्कमा रहेर सहकार्य भएको छ।” विश्वसनीय एवम् सर्वाधिक सहायता उपलब्ध गराउने नेपालको विकासको साझेदार जापानले विज्ञान र प्रविधिका क्षेत्रमा हासिल गरेको प्रगति र आर्थिक समृद्धि अनुकरणीय रहेको उहाँले बताउनुभयो।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को पर्यवेक्षक मुलुक जापानसँग क्षेत्रीयस्तरमा मात्र नभई राष्ट्रसङ्घीय शान्ति स्थापनाका काममा पनि दुवै देशले मिलेर काम गरिरहेका परराष्ट्रमन्त्री महतले बताउनुभयो।
सुखदुःखको साथी
गत वर्षको भूकम्पपछि जापानले तत्काल मानवीय तथा आपत्कालीन सेवा उपलब्ध गराउनाका साथै विपत्तिपछिको पुनःनिर्माण र पुनःस्थापनामा गरेको सहयोगले आपसी सम्बन्ध र मित्रतालाई अझ सुदृढ तुल्याएको उहाँले बताउनुभयो। नेपाल र जापान सुखदुःखका साथी हुन् भन्दै मन्त्री महतले भविष्यमा पनि जापानबाट अझ विस्तृत एवम् व्यापक मात्रामा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो।
व्यापार र लगानी विस्तारबाटै आर्थिक गतिविधिमा बढोत्तरी हुने विचार व्यक्त गर्दै उहाँले भूकम्पबाट शिथिल बनेको नेपालको अर्थतन्त्र उठाउन जापानी सहयोगको अपेक्षा आफूले गरेको बताउनुभयो। नेपाली उत्पादनलाई जापानी बजारसम्मको सहज पहुँचमा उहाँले जोड दिनुभयो।
राज्यमन्त्री किसीले नेपालको चौतर्फी विकासमा सक्दो सहयोग गर्न जापान प्रतिबद्ध रहेको बताउँदै जापानीका मन र मस्तिष्कमा नेपालका उच्च हिमाल र यहाँका विकासप्रेमी जनता सधैं रहिरहने उल्लेख गर्नुभयो। नेपाललाई आफ्नो देशका नागरिकले प्रमुख पर्यटकीय गन्तव्यका रुपमा राखेका पनि उहाँले बताउनुभयो।
भूकम्पबाट सधैं प्रभावित भइरहने आफ्नो देशमा केही वर्षअघिको ठूलो भूकम्पका बेला पाँच हजार कम्बल सहायतास्वरुप नेपालले पठाएको स्मरण गर्दै उहाँले दुवै मुलुक सुखदुःखका साथी हुन् भन्नुभयो।
समारोहमा नेपाल र जापानका कलाकारले दुवै मुलुकका संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए। रासस
|