कर्तव्यच्युत राजदूतलाई पुनः नियुक्त गर्नु गलत
काठमाडौं, १७ भदौ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले कर्तव्यच्युत राजदूतलाई पुनः नियुक्त गरिनु गलत भएको बताउनुभएको छ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको शुक्रबारको बैठकमा अध्यक्ष रोहितले भारतीय राजदूत डराएर नेपालीको घरघरमा गएर नाकाबन्दीको औचित्य सावित गर्न हिंडिरहेको बेला नेपाली राजदूत देशमा फर्केको भन्दै कर्तव्यच्युत भएको उल्लेख गर्नुभएको हो। दीपकुमार उपाध्यायलाई पुनः भारतको लागि नेपालको राजदूत नियुक्त गरिएको सम्बन्धमा टिप्पणी गर्दै उहाँले भन्नुभयो, ' फिर्ता लिइसकेको राजदूतलाई किन र कसरी पुनः भारत पठाउने निर्णय लिइयो?
उहाँको तर्क थियो, 'प्रचलनअनुसार नाकाबन्दी र अन्य दुई देशका बीचको सम्बन्धमा चिसोपना वा असमझदारी बढ्दा भारतीय राजदूत पनि फिर्ता पठाउनुपर्ने थियो।'
चीन र भारतमा धेरै दिनसम्म राजदूतहरू खाली हुनु उपयुक्त नभएको भन्दै अध्यक्ष रोहितले राजदूतहरू नराखी विशेष दूतहरू पठाउनुको अर्थ नभएको उल्लेख गर्नुभयो।
भारत भ्रमण गर्ने विशेष दूतले भारत र संरा अमेरिकाबीचको आणविक सम्झौता, भारतमा संरा अमेरिकी जलसेना परिचालन, संयुक्त सैन्य अभ्यासबारे चासो र चिन्ता नराखेको भन्दै उहाँले भारतीय वामपन्थीहरूले भारत–संरा अमेरिकाबीचको हतियार सम्झौतालगायतको विरोध भइरहेको चर्चा गर्नुभयो।
उहाँले चीन भ्रमण गर्ने विशेष दूतले पनि दक्षिण चीन सागर र चिनियाँ टापुहरूलगायत चीनका छिमेकी र अन्य देशसँगको चासोबारे बुझ्नुपर्थ्यो भन्नुभयो।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको संविधान, संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकी भारत र चीनलगायतका मुलुकसँगको कूटनीतिक सम्बन्ध थप सुमधुर र सुदृढ तुल्याउन सरकारलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएसँगै उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई प्रधानमन्त्रीको विशेष दूतका रूपमा भारत र चीन पठाउनुपर्नाको कारण र पत्रमा उल्लेख भएको विषयवस्तुका बारेमा सरकारबाट जानकारी लिएपछि समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो।
बैठकमा उपप्रधानमन्त्रीद्वयले राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र चीनका राष्ट्रपति सी जिङ पीङलाई नेपालको राजकीय भ्रमणका लागि पठाउनुभएको निमन्त्रणापत्र आफूहरूले सम्बन्धित मुलुकमा हस्तान्तरण गरेको जानकारी दिनुभयो।
|