भूकम्पबारे प्रतिवेदन र भक्तपुरको स्मारकबारे पुस्तक सार्वजनिक
भक्तपुर, १७ भदौ। गत वर्षको वैशाख १२ र त्यसपछि गएका भूकम्प तथा परकम्पनबाट जनजीवनमा पारेका असर र पुनःनिर्माणसम्बन्धी अनुसन्धान प्रतिवेदन तथा प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठरचित पुस्तक 'स्मारक सहर भक्तपुर' नामक कृति सार्वजनिक गरिएको छ।
शुक्रबार आयोजित एक
समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले सो पुस्तक सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले शासक दलहरूको पक्षपातका कारण सरकारप्रति अविश्वास बढिरहेको विचार व्यक्त गर्नुभयो।
अध्यक्ष रोहितले विदेशीको आडभरोसामा नभई नेपाली जनताकै बलमा पुनः निर्माण कार्य अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
सरकार अझै अनिर्णित अवस्थामा बसिरहेको र भूकम्प पीडित जनताको पीडा तथा भावना बुझ्न सरकार असफल भएको उहाँले बताउनुभयो।
शुक्रबार दरबार स्क्वायरमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष रोहितले भन्नुभयो, 'सरकारसँग रकमको अभाव होइन, चिन्तन र आत्मबलको अभाव छ। सरकारले पुननिर्माणको लागि आवश्यक ऐन–कानुन शीघ्र बनाउनुपर्छ। जनताको धैर्यलाई कमजोरी ठान्नु हुँदैन।'
सरकारले राष्ट्रिय योजना आयोगको औचित्य पुष्टि गर्नसक्नुपर्ने चर्चा गर्दै उहाँले पुनर्निर्माणको निम्ति नेपाली जनशक्तिको परिचालन तथा नेपाली मौलिक प्रविधि, सीप एवं शैलीको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो।
भूकम्प लगत्तैको उद्धार कार्यमा सरकारी उदासिनताबारे प्रसङ्ग जोड्दै उहाँले २०४५ सालको भूकम्पमा जनतालाई उत्तेजित पारेजस्तै वैशाखको भूकम्पमा पनि जनताबीच उत्तेजना फैलाउने अनेक प्रयास भए तापनि जनताको सचेतताका कारण अप्रिय घट्ना नघटेको बताउनुभयो।
प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले पुनर्निर्माणमा परम्परागत सामग्री, सीप तथा प्रविधिको प्रयोगको महत्त्वमाथि प्रकाश पार्दै हाम्रो मौलिकता हाम्रो परिचय हो भन्नुभयो।
उहाँले ऐतिहासिक सम्पदा एवं कलाकृति पुनर्जीवित गर्न सबैको सचेत प्रयास खाँचो रहेको बताउनुभयो।
कार्यक्रमको आयोजक संस्था टेवा र नागरिक समाजको तर्फबाट बोल्दै डा. निर्मला केसीले नेपाली संस्कृति एवं मौलिकता जगेर्ना गर्ने र लैङ्गिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ कुनै पनि विदेशीसामु हात नफैलाई विगत २१ वर्षदेखि संस्था क्रियाशील रहेको जानकारी दिनुभयो।
भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक किरण बज्राचार्यले अनुसन्धान प्रतिवेदन लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउन सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो।
नागरिक आवाजकी अध्यक्ष शोभा बस्नेत, सुसन रिसाल, स्थानीय सहयोगी कविन्द्र धौभडेल र उर्मिला श्रेष्ठले पनि कार्यक्रममा आ–आफ्नो विचार राख्नुभएको थियो।
दुई कृतिको विमोचन अध्यक्ष बिजुक्छेंले गर्नुभएको सो कार्यक्रममा नेवारी परम्परागत नृत्य 'माकचा प्याखं' र 'धिमाय् बाजा' पनि प्रस्तुत गरिएको थियो।
|