सिकर्मी सङ्घद्वारा भक्तपुर काण्डको स्मरण
भक्तपुर, १७ भदौ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले शासक दलहरू विभिन्न बहानामा स्थानीय निर्वाचन हुन नदिने षड्यन्त्र गर्दैछन् भन्नुभयो।
भक्तपुर सिकर्मी सङ्घको आयोजनामा शुक्रबार भएको 'भक्तपुर काण्ड र समसामयिक राजनीति' विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले पूँजीवादी व्यवस्था विभिन्नखाले षड्यन्त्र, जालझेल र छलकपटको आधारमा टिक्ने हुँदा नयाँ नयाँ षड्यन्त्र हुनसक्नेबारे सबै सचेत हुनुपर्ने बताउनुभयो।
पूँजीवादी व्यवस्था टिकाउनको निम्ति पूँजीपति वर्गले जस्तोसुकै निर्मम कदम पनि चाल्न सक्ने हुँदा कामदार वर्गले पनि पूँजीपति वर्गलाई घृणाको दृष्टिले हेर्नुपर्छ भन्नुभयो।
उहाँले भन्नुभयो, 'संविधान निर्माण भएको एक वर्ष पुग्दैछ। अहिले स्थानीय तहको निर्वाचन गर्ने कि स्थानीय निकाय भन्नेमा विवाद छ। यो नेपालमा निर्वाचन नै हुन नदिई देशलाई सङ्कटमा फसाउने चाल हो। यसमा भारतको मुख्य भूमिका छ।'
'हाम्रा उपप्रधानमन्त्री भारत गएर नेपालको संविधान संशोधनको कुरा गर्छन्। संविधान संशोधन गर्ने नगर्ने हाम्रो आन्तरिक विषय हो। विदेशीसँग नेपालको संविधान संशोधनबारे छलफल गर्नु आपत्तिजनक छ – उहाँले भन्नुभयो।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका सचिव उपेन्द्र सुवालले 'भक्तपुर काण्ड' नेमकिपालाई समाप्त पार्न राज्यस्तरबाट रचिएको षड्यन्त्र भएकोले यसबारे नयाँ पुस्तालाई जानकारी दिन यस्ता कार्यक्रमहरू निरन्तर गर्नुपर्ने बताउनुभयो।
भक्तपुर सिकर्मी सङ्घका सल्लाहकार विष्णुपभक्त कुसी, सङ्घका सचिव रामसुन्दर सुवालले पनि बोल्नुभएको उक्त कार्यक्रम सङ्घका अध्यक्ष बिक्रम ढुकुछुको सभापतित्वमा भएको थियो।
|