तीज र नेपालको महिला आन्दोलनबारे विचार गोष्ठी
भक्तपुर, १७ भदौ। नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा शुक्रबार तीजको अवसरमा 'तीज र नेपालको महिला आन्दोलन' विषयक विचार गोष्ठी सम्पन्न भयो।
कार्यक्रममा बोल्दै नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले तीजको नाममा बढेको सामाजिक विकृति रोक्न प्रगतिशील विचार बोक्ने महिलाहरू अग्रसर हुनुपर्ने बताउनुभयो।
संसारको महिला आन्दोलनबारे चर्चा गर्दै उहाँ वर्गीय दृष्टिकोणले अघि बढेको महिला आन्दोलनले मात्र सही मार्ग लिनसक्ने बताउनुभयो।
सांसद थापामगरले तीजलाई दुःखका कुरा पोख्ने मेलोको रूपमा मात्र नलिई सङ्घर्षका विषयमा सिक्ने सिकाउने समयको रूपमा पनि लिनुपर्ने विचार व्यक्त गर्नुभयो।
कानुन अध्ययन समाजका सदस्य एवं अधिवक्ता हिमाली रानामगरले तीजले नेपाली महिलाहरू सामाजिक, आर्थिक र साँस्कृतिक स्तरको प्रतिनिधित्व गर्ने गरेको बताउनुभयो।
नेक्राविसङ्घ केन्द्रीय छात्रा विभागका सदस्य सृजना सैंजूले तीजको नाममा केही विद्यार्थी र महिला सङ्गठनहरूले खर्चालु र भड्किला भड्किला गतिविधि गर्ने गरेकोमा सजग हुनुपर्नेमा जोड दिनुभयो।
नेक्राविसङ्घका प्रतिक्षा केसीको सभापतित्वमा भएको कार्यक्रममा कोपिला तामाङ र जानकी सिजापतिले पनि बोल्नुभएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले गीत, मुक्तक, कविता र गजलहरू प्रस्तुत गर्नुभएको थियो।
|