गोकर्णेश्वर मन्दिर क्षेत्र प्रदूषित
काठमाडौं, १७ भदौ। बाबुको मुख हेर्ने भदौ कृष्ण औंसीका दिन आएका भक्तजनले फालेको फोहरले गोकर्णेश्वर मन्दिर क्षेत्र प्रदूषित बनेको छ।
मन्दिर व्यवस्थापनका लागि जिम्मा लिएको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको गोकर्णेश्वर क्षेत्र प्ा्रबन्ध समितिको लापरबाहीको कारण फोहर व्यवस्थापन नभएको स्थानीयवासीको गुनासो छ।
मन्दिर क्षेत्रमा जताततै टपरी, प्लास्टिकका झोला, खानेकुरालगायतका फोहर फालिएकाले यहाँ सङ्क्रमण हुनसक्ने सम्भावना बढेको स्थानीयवासी श्याम श्रेष्ठ बताउनुहुन्छ।
“पितृप्रति सम्मान गर्ने प्रसिद्ध यस धार्मिकस्थलमा भौतिक पूर्वाधारको व्यवस्था नहुँदा मन्दिर क्षेत्र अव्यवस्थित भएको चर्चा गर्दै उहाँले भन्नुभयो – “मन्दिर क्षेत्र आसपासको जमिनलाई व्यवस्थित गरेर निश्चित ठाउँमा मात्र फोहर फाल्ने व्यवस्था मिलाएको भए मन्दिर क्षेत्र प्रदूषित नहुने र जम्मा गरिएको फोहर तत्काल उठाएर व्यवस्थापन गर्न सकिने थियो”।
समितिले औंसीका दिन सडकभर राखिने बजारलाई निषेध नगर्नाले पनि फोहर बढेको हो। अव्यवस्थित बजार र प्लास्टिकका थैलालेे बढी फोहर गरेको छ। प्रत्येक वर्ष पितृप्रति सम्मानका साथ तपर््ाण, सिदादान र श्राद्ध गर्न आउनेले सडक पार गर्न पनि नसक्ने गरी मूलसडकमै पसल सञ्चालन गर्ने गरेका र अत्यधिक भीड हुने गरेकोले त्यसदिन ट्राफिक प्रहरीले जोरपाटी–सुन्दरीजल सडकमा सवारी साधन सञ्चालनमा रोक लगाउने गर्दै आएको छ।
पानी पर्दा फोहर बगाएर बाग्मती प्रदूषित बनाउने भएकोले छिटो फोहर व्यवस्थापन गर्नुपर्नेमा पूर्व गाविस अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ जोड दिनुहुन्छ।
गोकर्ण क्षेत्रमा एउटैमात्र सार्वजनिक शौचालय हुँदा राष्ट्रिय सहिद स्मारक निर्माणस्थल यज्ञडोल सामुदायिक वन क्षेत्रमा खुला शौचालयको दुर्गन्ध फैलिएको छ।
गोकर्णेश्वर नगरपालिकाले पनि मन्दिर क्षेत्रको फोहर व्यवस्थापन गर्न चासो देखाएको छैन। नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया मन्दिर व्यवस्थापनका लागि गठित समितिले नै फोहर व्यवस्थापन गर्ने जानकारी पाएको बताउनुहुन्छ।
बिहीबार एकैदिन गोकर्णेश्वर मन्दिरमा पितृप्रति सम्मान दर्शाउन करिब डेढ लाख भक्तजन आएको पुजारी जगदीश भट्ट बताउनुहुन्छ।
|