'सम्झनामा कामरेड गेहेन्द्र' सार्वजनिक
चौतारा, १८ भदौ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले शनिबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आयोजित एक कार्यक्रमबीच पार्टीको सिन्धुपाल्चोक जिल्ला समितिका अध्यक्ष दिवंगत गेहेन्द्रबहादुर श्रेष्ठको सम्झनामा प्रकाशित 'सम्झनामा कामरेड गेहेन्द्र' पुस्तक सार्वजनिक गर्नुभयो।
नेमकिपा सिन्धुपाल्चोक जिल्ला समितिद्वारा आयोजित सो कार्यक्रममा धनी भएर अरुमाथि शोषण–दमन गर्ने र दुःख दिने मानिस ज्युँदो लास भएको तर जनताको लागि जीवन बाँच्ने मानिस मृत्युपछि पनि जनताको मन–मनमा बाँच्ने बताउनुभयो।
दिवंगत श्रेष्ठको पार्टी जीवनबारे चर्चा गर्दै उहाँले भन्नुभयो,'गेहेन्द्रजीले जीवनका तीन दशक लगातार पार्टीमा आबद्ध भएर जनताको सेवा गर्नुभयो। उहाँले जनताको सेवामा निःस्वार्थ र सार्थक जीवन बिताउनुभयो।
क्यान्सर रोगका कारण गएको जेठ २ गते निधन भएका गेहेन्द्र श्रेष्ठको स्मरण गर्दै प्रजापतिले उहाँ सिद्धान्तमा कट्टर र व्यवहारमा नरम कार्यकर्ता भएको बताउनुभयो।
उहाँले गेहेन्द्रका सपना अझ पनि पूरा हुन बाँकी भएकाले सबै कार्यकर्ताहरू उहाँका सपना पूरा गर्न लागिपर्न आग्रह गर्नुभयो।
'हाम्रा केही साथीहरू पार्टीको सानो काम गरेर पनि सबै आफूले नै गरे जस्तो गर्नुहुन्छ र केही साथीहरू आफू नभए पार्टी नै नचल्ने जस्तो व्यवहार गर्नु हुन्छ। तर कामरेड गेहेन्द्रमा हामीले कहिल्यै त्यस्ता कमजोरी देखेनौं। उहाँ पार्टीको निर्देशन पालनामा एक्लै भए पनि लगातार लाग्ने साथी हुनुहुन्थ्यो।', सचिव प्रजापतिले भन्नुभयो।
गेहेन्द्र श्रेष्ठले पार्टी कार्यकर्ताको रुपमा सधैं कठिनभन्दा कठिन काम गरेर इमानदार कार्यकर्ताको परिचय दिनुभएको उहाँको भनाइ थियो।
नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले शासक दलबीचको भागवण्डा र सत्ताको होडबाजीका कारण आमजनतामा राजनीतिप्रति बढेको वितृष्णालाई चिरेर गेहेन्द्रबहादुर श्रेष्ठले राजनीतिलाई जनताको सेवा गर्ने बाटोको रुपमा लागिपर्नुभएको बताउनुभयो।
'कामरेड गेहेन्द्रले वामपन्थी र दक्षिणपन्थी अवसरवादविरुद्ध गर्नुभएको सङ्घर्षलाई आत्मसात गर्दै सिन्धुपाल्चोकमा समाजवादको झण्डा अझ माथि लग्न सक्रिय बन्न अपरिहार्य छ।', उहाँले भन्नुभयो।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले आफ्नो व्यक्तिगत स्वार्थलाई भन्दा जनताको हितलाई पहिलो प्राथमिकतामा राखी अहोरात्र खट्नु नै गेहेन्द्रबहादुर श्रेष्ठबाट सिक्नुपर्ने पाठ भएको बताउनुभयो।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले समाजवादी गणतन्त्र प्रचार अभियानको क्रममा गेहेन्द्र श्रेष्ठले जनताको दुःख सुखका गीत र कविता आफै रचेर सुनाउने गर्नुभएको स्मरण सुनाउनुभयो।
सिन्धुपाल्चोकका पूर्व सांसद कृष्णराज श्रेष्ठले पार्टीको केन्द्रीय सदस्य वा मन्त्री बनेर जनता र देशको के के लुट्न सकिन्छ भनी पार्टीका कार्यकर्ताहरू लागिरहेको समयमा गेहेन्द्रबहादुर श्रेष्ठले इमान र सिद्धान्तको राजनीति कहिल्यै नत्याग्नुभएको बताउनुभयो।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सह–सचिव नारायणबहादुर दुवालले सिन्धुपाल्चोकमा नेमकिपाका केही कार्यकर्ताहरूले पैसा र स्वार्थका कारण पार्टी त्यागे पनि जीवनको अन्तिम समयसम्म गेहेन्द्र श्रेष्ठले पार्टीको सिद्धान्तलाई इमानदारीका साथ अँगाल्नुभएको बताउनुभयो।
नेपाल क्रान्तिकारी युवा सङ्घका पूर्व केन्द्रीय सदस्य धनबहादुर तामाङले गेहेन्द्र श्रेष्ठ आफ्नो व्यक्तिगत काम छोडेर पनि जनताको सेवामा लाग्न सक्ने प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो।
नेमकिपा सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य मेवाङ शेर्पाले गेहेन्द्र श्रेष्ठ जिविसबाट आउने थोरै बजेट पनि कसरी जनताको दीर्घकालीन हितमा प्रयोग गर्न सकिन्छ भनी चासो राख्ने कार्यकर्ता भएको बताउनुभयो। उहाँले नेमकिपाको भागमा परेको बजेटबाट फुल्पिङ्कट्टीमा बनाएको फूटबल चौरमा गएको भूकम्पको समयमा घाइतेहरूलाई उदार गर्न निकै उपयोगी भएको बताउनुभयो।
कार्यक्रममा नेकपा (एमाले) का यज्ञप्रसाद सापकोटा, नेकपा माओवादी क्रान्तिकारीका नेत्र दंगाल, स्थानीय शान्ति समितिका संयोजक अमानसिं तामाङ, जिविस सिन्धुपाल्चोकका प्रतिनिधि लोकबहादुर भण्डारी, गेहेन्द्रबहादुर श्रेष्ठका पुत्र सुमन श्रेष्ठलगायतले गेहेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्वबारे बोल्नुभएको थियो।
नेमकिपा सिन्धुपाल्चोकका उपाध्यक्ष श्यामलाल शाक्यको सभापतित्वमा भएको कार्यक्रममा सचिव गंगाबहादुर श्रेष्ठ र मीना मास्केले पनि बोल्नुभएको थियो।
नेमकिपा सिन्धुपाल्चोकका अध्यक्ष गेहेन्द्रबहादुर श्रेष्ठको गएको जेठ २ गते क्यान्सर रोगका कारण निधन भएको थियो।
|