September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

तः मुंज्या सफल पार्न बृहत् भेला

भक्तपुर,  १८ भदौ। भनपा वडा नं. १७ स्थित मिनिबस पार्क भार्वाचोमा हुने छत्तीसौं नेपालभाषा साहित्य तःमुंज्या सफल पार्न वडावासीहरूको बृहत् भेला शनिबार भयो। भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले शोषित–पीडित जनताको आवाज उठाउने दबुको रूपमा तःमुंज्या प्रयोग भइरहेको बताउनुभयो।  

ठूलठूला दलहरू भारतीय विस्तारवादको अगाडि घुँडा टेक्ने कामले गर्दा जनताले दुःख भोग्नुपरेको चर्चा गर्दै उहाँले जबसम्म ठूला दलहरू भारतीय विस्तारवादको अगाडि निडर भएर उभिन सक्दैनन तबसम्म जनताको समस्या समाधान हुँदैन भन्नुभयो।  

पूँजीवादी व्यवस्थाले जनताको सम्पूर्ण समस्या समाधान गर्न नसक्ने तर समाजवादी व्यवस्थामा जनताले परिवर्तनको अनुभूति गर्न पाउने विचार उहाँले राख्नुभयो।  

भेलामा नेमकिपा भक्तपुर नगर समितिका संयोजक रवीन्द्र खर्बुजाले विगतदेखि हालसम्मको नेपालभाषा साहित्य तःमुंज्याको गतिविधिबारे प्रस्ट्याउनुभयो।  

तःमुंज्या सचिव सुरेन्द्रराज गोसाईले तःमुंज्याले जनताको मर्म बुझ्न साहित्य तयार गर्नेमा जोड दिनुभयो।  

इतिहासविद् प्रा.डा.पुरूषोत्तम लोचन श्रेष्ठले भाषा, साहित्य र इतिहासले पनि जनताको सेवा गर्नुपर्ने बताउनुभयो।  

नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकले तःमुंज्या सफल बनाउन सम्पूर्ण टोलवासीलगायत विभिन्न क्षेत्रका महानुभावहरूले पनि सहयोग गर्नुपर्ने विचार राख्नुभयो।  

लक्ष्मीनारायण राजलवटको सभापतित्वमा भएको भेलामा श्यामसुन्दर बाटी र रमेश न्याइच्याईले बोल्नुभएको थियो।  

भेलाले सल्लाहकार पुरूषोत्तम लोचन श्रेष्ठ र श्रीभक्त मानन्धरसमेत भएको लक्ष्मीनारायण राजलवटको अध्यक्षतामा ३१ सदस्यीय नेपालभाषा साहित्य तःमुंज्या अनयोजक समिति गठन गरेको छ।