चाँगु नपामा भक्तपुर काण्डको स्मरण
भक्तपुर, १८ साउन। हरेक राजनीतिक दल दर्शनको आधारमा चल्ने गर्दछ। नेमकिपा काम गरी खाने सर्वहारा वर्गको हितमा काम गने मार्क्सवादी, लेनिनवादी र माओविचारधारालाई निर्देशक सिद्धान्त मान्ने र देश र जनताको हक हितका लागि सङ्घर्षरत पार्टी हो।
उक्त भनाइ नेमकिपा विदेश सम्बन्ध प्रमुख एवम् सांसद प्रेम सुवालले भक्तपुर काण्डको स्मरणमा नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगु नगर समितिद्वारा शनिबार आयोजित प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको हो।
लेनिनवादी नीतिबमोजिम नेमकिपाले पञ्चायती व्यवस्थामा चुनाव उपयोग गरी प्रतिक्रियावादी सङ्घ/संस्थाभित्र पसी देश र जनताको पक्षमा सङ्घर्ष र आन्दोलनहरू गरेको कारण राज्यस्तरबाटै भक्तपुर काण्ड रचेको उहाँले बताउनुभयो। ठूला पार्टीहरूले पञ्चायती शैलीमै साना कम्युनिष्ट पार्टीलाई दबाउन ३ प्रतिशतको प्रावधान राख्न खोज्नु जनघाती कदम भएको उहाँले बताउनुभयो।
उहाँले ठूला पार्टीहरू विदेशीहरूको दलाली गर्न तल्लीन रहेको हुँदा देशको ७१ ठाउँमा भारतले सीमा मिचेको र ६० हजारभन्दा बढी हेक्टर जमिन भारतले ओगटेको हुनाले देशभक्तिपूर्ण भावनाले काम गर्नु समयको माग हो भन्नुभयो।
अतिथि सुवालले भारतीय शासक वर्गले सन् १९७५ देखि नेपालको तराई भूभाग भारतमा गाभ्ने योजना बनाएको र सोहीबमोजिम मधेसी दलहरूलाई चित्त बुझाउन संविधान संशोधन गर्न दबाब दिइरहेको प्रति सबै सचेत रहनुपर्ने खाँचो औंल्याउनुभयो। उहाँले संशोधनवाद र आत्मसमर्पणवादकै कारण ४० लाखभन्दा बढी भारतीयहरूले नेपाली नागरिकता पाएको उल्लेख गर्दै व्यक्तिगत फाइदाका लागि जे पनि गर्ने प्रवृत्तिले गर्दा नेपाल भुटान र सिक्किमजस्तै बन्ने सम्भावना देखिएकोले आफ्नै खुट्टामा उभेर राजनीति गर्न सिक्नुपर्ने बताउनुभयो।
नेमकिपा भक्तपुर जिल्ला कोषाध्यक्ष केदार खड्काले संशोधनवाद, साम्राज्यवाद र भारतीय विस्तारवादविरुद्ध सङ्घर्ष गरेकै कारणले तात्कालीन मण्डलेहरूले नेमकिपालाई झूटा मुद्दामा फसाएको र पार्टीका नेता कार्यकर्ताहरूलाई रिहा गराउन विशेषगरी महिलाहरूको उल्लेखनीय योगदान रहेको स्मरण गर्नुभयो।
नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगु नगर समिति अध्यक्ष ज्ञानकृष्ण अवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा चाँगु नसका सहसचिव श्याम अवाल, नेक्रायुसङ्घ केन्द्रीय सदस्य मिनबहादुर बाटा, जिल्ला सहसचिव हरि सुवाल, नेक्रायुसङ्घ चाँगु नसका सचिव कृष्णराम सुलु, सदस्य राम कासुलालगायतले बोल्नुभयो।
|