भक्तपुरलाई छवटै नगरपालिका कायम गर्न सिफारिस
भक्तपुर, १८ भदौ। स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समिति भक्तपुरले राज्यको पुनः संरचना गर्दा भक्तपुर जिल्लामा हाल रहेका छवटै नगरपालिकालाई कायम गर्न सिफारिस गरेको
छ।
समितिले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना हाल रहेकै छवटा नगरपालिकालाई स्थानीय तह र हालकै वडा सिमाना तथा केन्द्र कायम रहने गरी आयोगलाई सिफारिस गरेको समितिका संयोजक एवं स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिनुभयो।
स्थानीय निकायको पुनः संरचना गर्ने विषयमा जिल्लास्थित सबै राजनीतिक दलहरूले एउटै धारणा प्रस्तुत गरेका थिए।
दलहरूले भक्तपुरका हालका छवटै नगरपालिकालाई यथावत् राख्नुपर्ने माग गर्दै जिल्लास्तरीय परामर्श तथा अन्तरक्रिया कार्यक्रममा अहिले रहेका नगरपालिकाको संरचना बिगार्न नहुने सुझाव दिएपछि समितिले यस्तो सिफारिस गरेको हो।
समितिले छवटै नगरपालिका, जिल्लाका कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, बौद्धिक वर्ग, संस्कृतिविद्, नागरिक समाजलगायतसँग विभिन्न चरणमा छलफल भएको थियो।
स्थानीय तह पुनः संरचना आयोगले उपत्यकाभित्र एउटा नगरपालिका निर्माण गर्दा न्यूनतम ९५ हजार जनसङ्ख्या रहे पनि भक्तपुरमा भने यो मापदण्ड पूरा गर्न भक्तपुर जिल्लालाई सिङ्गो उपमहानगरपालिका वा तीनवटा नगरपालिका बनाउन सकिने सुझाव आए पनि अन्तमा छवटै नगरपालिका हुनुपर्नेमा सबै अडिग रहेका थिए।
विसं २०६८ को जनगणनाअनुसार भक्तपुर जिल्लामा दुई लाख ९८ हजार ७१४ जनसङ्ख्या रहेको छ भने जिल्लाको क्षेत्रफल ११९ वर्गकिमि रहेको जिविस भक्तपुरले जनाएको छ। |