भक्तपुरको सिद्धपोखरीमा माछा देख्न छोडियो
भक्तपुर, २० माघ। भक्तपुर नगरपालिका वडा नं १७ सिद्धपोखरीमा आन्तरिक पर्यटक बढिरहेको छ। आन्तरिक पर्यटकहरू सिद्धपोखरी पुगेर मन खिन्न गरी जानुपर्ने अवस्था छ। सिद्धपोखरीमा माछाहरूलाई दाना खुवाउने रहरले पर्यटकहरू घुइचो लाग्ने हो तर माछाहरू माथि नआएकोले माछालाई दाना खुवाउन नपाइने र कसैको बालबच्चाहरू माछालाई खेलाउन नपाउँदा रून्दै बाहिरिने गरेको पाइएको छ।
सिद्धपोखरी एैतिहासिक एवं पौराणिक पोखरी हो। यो पोखरी १५ औं शताब्दिमा यक्ष मल्लको पालामा निर्माण भएको इतिहास छ। एक सय एकहत्तर मिटर लम्बाई, त्रिहत्तर मिटर चौडाई र तीन मिटर गहिराई भएको यो पोखरीलाई इन्द्र दह पनि भनिन्छ। इन्द्रजात्रामा ठूलो मेला लाग्ने गर्दछ। आकास सफा भएको बेला सिद्धपोखरीबाट हिम श्रृङ्खलाका राम्ररी देखिन्छ।
ऐतिहसिक पोखरी वातावरण प्रदुषण भई धुवाँ धुलोले गर्दा पोखरीको पानी माथि कालो लेउ जस्तो जमेको, माछामा रातो खटिरा र घाउ देखिएको, जाडो महिना भएकोले माछाहरू माथि नआउने गरेको साथै अक्सिजन कमीको कारण माछा समेत मर्न थालेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो।
माछा पोखरीमा अक्सिजनको मात्र बढाउन डुङ्गा चलाई आयस्रोत बढाउन सक्ने घुम्न आउने पर्यटक राधिका प्रजापति बताउनुहुन्छ। उहाँका अनुसार पानी फोहर भएकोले पानी फेर्नुपर्ने वा उपचार गर्नुपर्ने साथै माछा मरेको अक्सिजन नपुग वा रोगले हो जचाउनुपर्ने बताउनुभयो।
|