September 19, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

व्यक्तिगत सुविधा होइन जनताको सेवा गर्नुस्

भक्तपुर, २२ भदौ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको घर दैलोमा पुगेर स्वास्थ्य सेवा गर्ने स्वास्थ्यकर्मीहरूले आफ्नो व्यक्तिगत सुविधालाई भन्दा जनताको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर कार्य गर्न निर्देशन दिनुभयो।  

घर घरमा गएर नर्सिङ सेवा गरिरहेका नर्स र स्वास्थ्य स्वयंसेविकाहरूको भेलामा प्रमुख प्रजापतिले नर्स र स्वास्थ्य स्वयंसेविकाहरूको व्यवहार शिष्ट र नरम हुनुपर्छ भन्नुभयो।  

स्वास्थ्य सेवामा खट्ने स्वास्थ्यकर्मीहरूले जनताको सेवा नै ठूलो धर्म हो भन्ने भावनाले काम गरेमात्रै जनप्रतिनिधिहरूको भावना सार्थक हुने बताउनुभयो।  

उहाँले भन्नुभयो, 'स्वास्थ्य उपचार खर्च अन्यन्त महँगो हुँदै गइरहेको छ। गरिब जनताले उपचार गर्न नसक्ने स्थिति आएको छ। कतिपय ज्येष्ठ नागरिकहरू उपचार नपाएर दुःख कष्ट सहेर जीवन बिताइरहेका छन्। नपाको घर घरमा नर्सिङ सेवाले गरिब वर्गका जनतालाई सहयोग पुग्नेछ।  

नगर कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले एक हप्तामा आफ्नो वडामा नर्सहरू घर घरमा गएर सेवा गरेकोमा जनता खुसी भएको बताउँदै यसलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधिहरू पनि जनताबीच जानुपर्ने विचार व्यक्त गर्नुभयो। 

डा. रत्नसुन्दर लासिवाले स्वास्थ्यकर्मीहरूले घर घरमा गएर गर्नुपर्ने कामको जानकारी दिनुको साथै स्वास्थ्य सेवामा कुनै कमी–कमजोरी हुन दिनु हुन्न भन्नुभयो।  

नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्रमा घर घरमा नर्सिङ सेवा उपलब्ध गराउने उल्लेख छ। जनप्रतिनिधिले पद बहन गरेको सय  दिनको अवसरमा घरघरमा नर्सिङ सेवा सुरु भएको हो। घरघरमा गएर सेवा गर्ने स्वास्थ्यकर्मीहरूले स्वास्थ्यसम्बन्धी पारिवारिक विवरण तयार गर्ने, अशक्त र ज्येष्ठ नागरिकहरूको हेरविचार गर्ने, घाउको सरसफाइ गर्ने, स्त्री रोगसम्बन्धी छानबिन गर्ने, महिलाहरूलाई स्तन परीक्षण आफै गर्न सिकाउनेलगायतका कार्यहरू गर्नेछन्।