November 19, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

सहकारी ऋण लगानीमा सीमित हुन नहुने

भक्तपुर, २४ भदौ। थालाछें बचत तथा ऋण सहकारी संस्थाको दसौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो।  

सभामा उद्घाटन मन्तव्य राख्दै नेमकिपाका सांसद प्रेम सुवालले सहकारीलाई बैङ्कजस्तै ऋण लगानीमा सीमित गर्न नहुने, जनकम्युनसम्म सहकारीलाई विकास गर्दै लानुपर्ने र प्रजग कोरिया र चीनको जनकम्युनबारे सहकारीका सदस्यहरूबीच छलफल र अन्तरक्रिया गर्नुपर्ने बताउनुभयो।  

सांसद सुवालले भन्नुभयो, 'संसदमा सहकारी ऐन संशोधन विधेयकबारे छलफल भइसक्यो तर सहकारी माफियाहरूको चङ्गुलमा विधेयक परेको आशङ्का गरिंदै छ। व्यापक जनताको हितमा सहकारी विधेयक पारित नभए पूँजीपति वर्गलाई फाइदा हुनेछ। यतातर्फ नेका, एमाले र माओवादी केन्द्रका सांसदहरू सचेत हुनु आवश्यक छ। तर सचेत देखिएको छैन।' 

उहाँले संसदमा मुलुकी ऐन, २०२०, नयाँ नामकरणसहित देवानी र फौजदारी दुई भागमा केही पारित भइसकेको र केही पारित हुने क्रममा रहेको र सो ऐनको एउटा प्रावधानमा बुबा–आमाले आफ्नो सम्पत्ति इच्छाएको व्यक्तिलाई दिन पाउने भएको हुँदा अझै विवादित छ भन्नुभयो।  

सहकारी अध्ययन समाजका अध्यक्ष केदार खड्काले सहकारीले काम गरी खाने जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। 

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका धनेशराज राजोपाध्याय, बेखाल साकोसका देवकुमार अवाल, भक्तपुर साकोसका बलराम प्रजापति, सिद्धि गणेश साकोसका राजाराम दुवालले पनि बोल्नुभएको थियो।  

सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णभक्त गैंडा, सचिव रामकृष्ण सांगाछें, कोषाध्यक्ष विश्वराम दुमरू, सञ्चालक पूर्णप्रसाद शिल्पकार र वदनकेशरी प्रजापतिले पनि बोल्नुभएको थियो।