September 24, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

ख्वप उमाविमा अभिभावक भेला

भक्तपुर, २४ भदौ। भनपाद्वारा सञ्चालित ख्वप उच्च माविमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूको अभिभावक भेला शनिबार सम्पन्न भएको छ।  

बुधबारदेखि सुरू भएको उक्त अभिभावक भेलाको समापन कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र पर्यटकीय गन्तव्यस्थल बनाउने भक्तपुर नगरपालिकाको लक्ष्य रहेकोे दोहोर्‍याउनुभयो। 

शिक्षाको विकासको लागि भनपाले ४१ करोड रूपैयाँ लगानी गरिसकेको चर्चा गर्दै उहाँले भनपाबाट सञ्चालित शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूको स्तर नेपालको कुनै पनि विद्यालय/कलेजभन्दा तुलनात्मकरूपमा कम हुन नदिनेमा विद्यालय परिवार सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।  

विद्यार्थीको अवाञ्छित तथा अनुशासनहीन गतिविधिले विद्यालयकै बद्नाम हुने भएकोले अभिभावक तथा शिक्षकहरूले विद्यार्थीको हरेक गतिविधिमा सूक्ष्म ध्यान दिनुपर्ने र अनुशासनको पालना कडाइका साथ गर्नुपर्नेमा जोड दिनुभयो। 

उहाँले भन्नुभयो, 'विद्यार्थी र समयको मागअनुसार नयाँ–नयाँ कार्यक्रम र शैक्षिक संस्थाहरू खोल्न पनि जनप्रतिनिधिहिरूले प्रयास गर्नेछ। निर्वाचित जनप्रतिनिधिहरूको ध्यान जनताको सेवामा केन्द्रित छ। जनताको सेवा गर्नेबाहेक हाम्रो केही स्वार्थ छैन।  

विद्यार्थीहरूलाई देशभक्तिपूर्ण शिक्षा दिनुपर्नेमा जोड दिंदै मेयर प्रजापतिले हामीले दिने शिक्षा विदेशमुखी नभई स्वदेशमुखी हुनुपर्ने र पढाइ पूरा भएपछि स्वदेशमै काम गर्ने भावना विद्यार्थीहरूमा जगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।  

उहाँले नगरपालिकाले आम्दानी बढाउने उद्देश्यले नभई शिक्षाको गुणस्तर बढाउने उद्देश्यले ७ वटा शैक्षिक संस्थान सञ्चालन गरिरहेको बताउनुभयो।  

विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठले अभिभावकहरूसँगको सम्बन्ध राम्रो भएसँगै विद्यार्थीहरूको पढाइको स्तरमा वृद्धि हुने भएकोले विद्यालयले नियमितरूपमा अभिभावक भेला गरिरहेको बताउनुभयो।  

उहाँले भन्नुभयो, 'विद्यार्थीहरूलाई मेहनत गर्ने संस्कारको विकास गराउन विद्यालयको ध्यान केन्द्रित छ। विद्यार्थीले मेहनत गरेर पास गर्नुपर्छ, मेहनत गर्नुको विकल्प छैन।' 

प्राचार्य श्रेष्ठले प्रवेश परीक्षा, राष्ट्रिय परीक्षा बोर्ड र गरिब तथा जेहेनदार विद्यार्थीहरूको लागि शैक्षिक वर्ष २०७३/७४ सालमा रू. ५५ लाख छात्रवृत्ति प्रदान गरेको जानकारी दिनुभयो।  

कार्यक्रममा विद्यालयका उपप्राचार्य विष्णुप्रसाद किसीले पनि बोल्नुभएको थियो।