September 24, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

'पूँजीवादी सरकारबाट कामदार वर्गको हित हुँदैन'

काभ्रे, २४ भदौ। नेपाल मजदुर किसान पार्टी सिद्धान्तमा अडिग पार्टी हो। सिद्धान्तविनाको पार्टी आकारमा ठूलो र सरकारमा गएर पनि देश र जताको हित हुँदैन। नेपाली जनता राजनीतिकरूपले सचेत र सङ्गठित भएपछि चुनावमा आचारसंहिता उल्लङ्घन गरेर भोज भतेर खुवाउने, चुनाव चिह्नसहितको टीशर्त, टोपी र ज्याकेट बाँड्ने, पैसा बाँड्ने भ्रष्ट पार्टीहरू पराजित हुनेछन्।  

नेपाल मजदुर किसान पाटी जिल्ला समिति काभ्रेद्वारा बनेपामा आयोजित कार्यकर्ता भेलामा पार्टीका सचिव प्रेम सुवालले उक्त विचार राख्नुभएको हो।  

सचिव सुवालले पूँजीवादी सरकारका मन्त्रीहरूले भ्रष्टाचार र कमिसन खाएको हुँदा देश र जनताले दुःख पाएको हो, यसकारण समाजवादी व्यवस्थाको लागि जनताको बीचमा गतिविधि गरिरहेको बताउनुभयो।  

देशभक्त उद्योगी–व्यापारी एक भएर अगाडि बढ्न नसके देश साम्राज्यवादी र विस्तारवादीहरूको उपनिवेश हुने र अन्ततः अस्तित्व नै समाप्त हुने खतरा बढेको चर्चा गर्दै सचिव सुवालले पूँजीवादी सरकारमा गएर जनताबीच सुशासन र शोषण गर्ने पार्टीहरू कम्युनिष्ट हुन नसक्ने स्पष्ट गर्नुभयो।  

नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले थ्रेसहोल्ड लागू गर्नु प्रतिगमन हो भन्दै साम्राज्यवादी र विस्तारवादी पक्षधर नेका, एमाले र माओवादीले पूँजीवादी सत्तामा व्यापक जनतालाई दमन गर्ने नीति लिएको बताउनुभयो।उहाँले एमाले, माओवादी कार्यकर्ताहरूले नेका नेताबाट मार्क्सवादसम्बन्धी प्रशिक्षण लिनु लज्जास्पदक भएको बताउनुभयो।  

नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले नेमकिपाले सदा देश र जनताको पक्षमा कार्य गर्दै आएको बताउनुभयो।  

नेमकिपा काभ्रेका सल्लाहकार नारायणबहादुर दुवालले राष्ट्रिय परिस्थिति पूँजीवादी अनुकूलमात्र सधैं भइनरहने र अन्तर्राष्ट्रिय रूपमा समाजवादी विचार बोक्नेको सङ्ख्या बढ्दै अन्ततः समाजवाद अनुकूल बन्दै छ भन्नुभयो।  

नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यको सभापतित्वमा भएको उक्त भेलामा सचिव हिमाली रानामगर, हरिप्रसाद मानन्धर, तारा न्यौपाने र ज्ञानेन्द्र डंगोलले पनि बोल्नुभएको थियो। 

उक्त भेलाबाट कृष्णकुमार वैद्यको संयोजकत्वमा एघार सदस्यीय चौथो नेमकिपा काभ्रे जिल्ला सम्मेलन तयारी समिति गठन भएको छ।