September 19, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

नेमकिपाको निर्वाचन प्रचार कार्य चालू

वीरगञ्ज, २५ भदौ। स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ का १२६ स्थानीय तहमा हुन गइरहेको निर्वाचनको सन्दर्भमा विभिन्न जिल्लामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूको प्रचार प्रसार कार्य आइतबार पनि चालू रह्यो।  

सोही क्रममा पर्सा जिल्लामा वीरगञ्ज महानगरपालिका वडा नं. ३१, सखुवा प्रसौनी गाउँपालिकाका खजुरिया, सठवल, औराहा, सिद्धपुर र सेराईलगायत गाउँहरूमा घरदैलो मत अभियान तथा चोक–चोकमा कोणसभा सम्पन्न भएका छन्।  

कोणसभामा नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साह, सदस्यहरू हकिम अन्सारी र ब्रम्हदेव थारू, सखुवा–पुसौनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष उम्मेदवार सौकत अलि, नेक्रायुसङ्घका पञ्चरत्न सैजू, सरजु फसिकवलगायतले नेमकिपालाई मत किन भनी स्पष्ट पार्नुभयो।  

त्यस्तै चुनावी प्रचार अभियानको क्रममा कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो तथा भेला तीव्रताका साथ अघि बढिरहेको छ। 

यसैक्रममा वडा नं. ७ मा सम्पन्न चुनावी भेलामा नेमकिपाको तर्फबाट मेयरका उम्मेदवार रञ्जुदेवी साहले जनताको दुःख–कष्ट र पीडा बुझेको पार्टीले मत्रै जनताको पक्षमा काम गर्ने भएकोले नेमकिपाका उम्मेदवाहरूलाई मत दिन अनुरोध गर्नुभयो।  

पार्टीका उपमेयर पदका उम्मेदवार मुक्ति यादवले नेपाली लाखौं युवाहरू बेरोजगारी समस्याबाट पीडित भई विदेशीएको चर्चा गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो।  

उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम भएको कार्यक्रममा रत्नप्रसाद फैजूले पनि बोल्नुभएको थियो।  

त्यस्तै सिराहाको लाहान नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिकालगायत नेमकिपाका उम्मेदवार र नेता, कार्यकर्ता सम्मिलित चुनाव प्रचार र्‍याली तथा घरदैलो कार्यक्रम सम्पन्न भएका छन्।  

सप्तरीको कञ्चनपुर रूपनगर नगरपालिका, विष्णुपुर गाउँपालिकालगायत स्थानीय तहहरूमा नेमकिपाका उम्मेदवारहरूले घरदैलो गरी मत माग्ने कार्यक्रम चालू राखेका छन्।  

रौतहटका गरूडा, माधवनारायण, कटहरिया, देवाही–गोनाही र बौधीमाई नगरपालिकामा पनि चुनाव प्रचार प्रसारका निम्ति विविध गतिविधि भएको समाचार प्राप्त भएका छन्।