September 19, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

राजनीति पद र पैसाको लागि होइन

भक्तपुर, २६ भदौ। नेपाल क्रान्तिकारी युवा सङ्घ भनपा वडा नं २ को आयोजनामा समसामयिक राजनीतिक विषयमा जानकारी गराउने उद्देश्यले युवाहरूको एक भेला भयो। 

उक्त भेलामा नेमकिपाका सांसद प्रेम सुवालले ठूला पार्टीहरू पद र पैसाको लागि र व्यक्ति र पार्टीको स्वार्थ पूरा गर्नेतर्फ लागिरहेको बताउनुभयो। संसदमा देशको सार्वभौमिकता रक्षा र राष्ट्रहितको विषयमा नेमकिपाले आवाज उठाइरहेको उल्लेख गर्दै उहाँले सार्वजनिक पद धारण गरेर जनप्रतिनिधिहरूले पैसा खाएर काम गरिरहेको बताउनुभयो। 

भक्तपुर नगरपालिका वडा नं २ का निर्वाचित वडाध्यक्ष हरिप्रसाद वासुकलाले वडामा छुट्याइएको बजेट वडाका मठमन्दिरलगायत बाटोघाटो मर्मत तथा निर्माणजस्ता विकास कार्यहरूमा खर्च गर्ने जानकारी दिंदै देको मिवा इतापाको आवास योजना सम्पन्न गर्न नगरपालिका लागिपरेको बताउनुभयो।  

नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिका  अध्यक्ष जगतराम धुख्वाले असोज २ गतेको प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका लागि युवाहरूको सक्रियता बढेको प्रसङ्ग उल्लेख गर्नुभयो। वडाका इन्चार्ज कृष्णराम सुवालको सभापतित्वमा सम्पन्न उक्त भेलामा कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको थियो।