September 19, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

निर्वाचन विचार र सिद्धान्तको लडाइँ हो–अध्यक्ष रोहित

काठमाडौं, २६ भदौ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले निर्वाचन विचार र सिद्धान्तको लडाइँ हो भन्नुभएको छ।  

सोमबार सगरमाथा विशेष कार्यक्रममा सञ्चालकसँग कुराकानी गर्दै अध्यक्ष रोहितले निर्वाचन जनतालाई सुसूचित पार्ने अवसर हो, दलका नेता तथा कार्यकर्ताहरू सिद्धान्त, दर्शन र विचारको आधारमा प्रचार प्रसारमा जुट्नुपर्छ भन्नुभयो।  

सबभन्दा ठूलो मन्त्रिमण्डल गठनबारे सोधिएको एक प्रश्नको जवाफमा सिद्धान्त र राजनीतिक मतलब नराख्ने शेरबहादुर देउवाबारे राजनीतिक विश्लेषकहरूले पहिले गरेको विश्लेषण अहिले सावित भएको उहाँले बताउनुभयो।  

सरकारले ल्याएको थ्रेसहोल्ड देश र जनताको सेवा गर्न ल्याएको होइन, विचार र सिद्धान्तलाई एक गर्न होइन –अध्यक्ष रोहितले भन्नुभयो।  

व्यवस्थापिका–संसदमा प्रतिपक्षी कमजोर भयो भने खबरदारी गर्न नपाउने र तानाशाही चल्ने उल्लेख गर्दै उहाँले भन्नुभयो – दलको घोषणापत्र जनतालाई विश्वास दिलाउन हो, निर्वाचनमा घोषणापत्रमार्फत जितिसकेपछि घोषणापत्र लागू नगर्नु धोका हो। धोका दिने दललाई उम्मेदवारी दिन नपाउने बन्दोबस्त थ्रेसहोल्डमा गर्नुपर्छ।  

नेमकिपा सरकारमा किन जाँदैन भन्ने अर्को प्रश्नको जवाफमा अध्यक्ष रोहितले भन्नुभयो, 'निर्वाचनमा जनताले सरकारमा जान होइन प्रतिपक्षमा बसेर देश र जनताको सेवा गर्न मत दिएका हुन्, नेमकिपाको घोषणापत्रमा सरकारमा जाने उल्लेख छैन।' 

बहुमत जनता अझै सचेत र सङ्गठित नभएको हुँदा पूँजीवादी शासकहरूलाई हराउन नसकेको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरू जनतामाझ पुग्न अझै अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो।  

पैसा बढी बाँड्ने, लोभलालच देखाउने दललाई भोट दिने जनताको वस्तुस्थितिबारे चर्चा गर्दै अध्यक्ष रोहितले सत्तासीन दलका नेताहरूले पञ्चायतकालको काम अहिले दोहोर्‍याइरहेको बताउनुभयो।