September 24, 2017

प्रमुख समाचार

बाँकि समाचार
 

ख्वप विश्वविद्यालय विधेयक अगाडि बढ्ने

काठमाडौं, २७ भदौ। विश्वविद्यालयको निम्ति दुई दर्जन विधेयक प्रस्तावित भएको बेला राजर्षिजनक विश्वविद्यालय विधेयक – २०७१ बारे छलफल अगाडि बढेको छ।  

विधेयकका संशोधनकर्ताहरूबीच मङ्गलबार भएको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समिति' को बैठकमा भाग लिँदै समितिका सदस्य नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले विश्वविद्यालय राजनीतिक भागवण्डाको केन्द्र हुन नहुने विचार राख्नुभयो। उहाँले तराई शैक्षिक रुपमा पछि परेको क्षेत्र भएको उल्लेख गर्दै तराईका गरिब किसानसमेत विश्वविद्यालय पुग्ने पृष्ठभूमि एवम् वातावरण हुनुपर्ने धारणा राख्नुभयो।  

सांसद थापामगरले विश्वविद्यालय मन्त्री वा प्रधानमन्त्रीको इच्छाअनुसार खोल्नुभन्दा देश र जनताको आवश्यकताअनुसार हुनुपर्ने तर्क राख्नुभयो। उहाँले संसदीय समिति र विश्वविद्यालय अनुदान आयोगबाट पारित भई संसद सचिवालयमा दर्तासमेत भएको ख्वप विश्वविद्यालयको विधेयक किन अघि नबढेको भनी प्रश्न गर्नुभयो। 'पूर्वाधार भएको ख्वप विविबारे मन्त्री परिषद्को निर्णय भइसकेर पनि किन अघि बढेन?' सांसद थापामगरको प्रश्न थियो। उहाँले सरकारको नीति तथा कार्यक्रममा घोषणासमेत भएको ख्वप विवि विधेयक अगाडि नबढाइएकोमा जनता चकित भएको उल्लेख गर्नुभयो। 

सांसद थापामगरको जवाफमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाउन सरकार प्रतिबद्ध भएको बताउनुभयो। उहाँले ख्वप विश्वविद्यालय विधेयक केही पर धकेलिएको तर त्यसलाई कम महत्त्व दिएको होइन भन्नुभयो। राज्यमन्त्री अधिकारीले भन्नुभयो 'ख्वप विवि विधेयक र मन्त्रालयले संसदमा पठाइ सकेको छ।' 

समितिका अध्यक्ष रञ्जु झाको सभापतित्वमा भएको छलफलमा एमाले सांसद गणेशमान गुरुङले विश्वविद्यालय खर्च र सेवा सुविधा बढाउनमा केन्द्रित भएको उल्लेख गर्दै विश्वविद्यालयको सभा तत्तत् स्थानमै हुनुपर्ने तर प्रम कार्यालयमै विश्वविद्यालय सभा हुनु गलत भएको विचार राख्नुभयो।  

विधेयकको थप अध्ययनको निम्ति सभापति झाको संयोजकत्वमा पाँच  सदस्यीय कार्यदल गठन गरिएको छ।