October 24, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

भारतीय सेनाको स्थायी कार्यालयको विरोध

बुटवल, ३१ भदौ। अङ्ग्रेजलाई नेपालले जितेको ऐतिहासिक जितगढी किल्लामा नेपाल मजदुर किसान पार्टी रूपन्देहीले शनिबार बुटवलको ऐतिहासिक दरबार क्षेत्रमा भारतीय सेनाको स्थायी कार्यालय स्थापनाविरूद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्‍यो। 

'जितगढीमाथि आक्रमणको प्रतिकार गरौं, सार्वभौमसत्ताको रक्षा गरौं।' भन्ने नाराका साथ आयोजित अन्तरक्रियामा नेपाल मजदुर किसान पार्टी रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले भारतीय भूपू सेनालाई पेन्सन बैङ्कबाट उपलब्ध गराइरहेकोले पेन्सन क्याम्प आवश्यक नभएको चर्चा गर्दै शिक्षा र स्वास्थ्य उपचारजस्तो राज्यको दायित्वभित्रका विषयमा विदेशी सेना बोलाउनु निन्दनीय छ भन्नुभयो।  

नेपाली शासक दलका नेताहरूको दरिद्र मानसिकताकै कारण पेन्सन, शिक्षा र स्वास्थ्यको नाममा भारतीय विस्तारवादले भावनात्मक सौदाबाजी गरिरहेको चर्चा गर्दै अध्यक्ष वासीले जितगढी र सोसँगै जोडिएको मणिमुकुण्द सेन दरबार क्षेत्रको ऐतिहासिक, सामरिक र पर्यटकीय महत्त्व भएकैले भारतीय सेनाले गिद्धेदृष्टि लगाएको स्पष्ट पार्नुभयो। 

कार्यक्रममा वरिष्ठ साहित्यकार अजम्बरध्वज खातीले पुर्खाको रगतले आर्जेको इतिहासलाई जोगाउन युवाहरूले डटेर सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो। 

साहित्यकार एवं इतिहासविद् विजयसागरले दरबार तथा जितगढी किल्लाको ऐतिहासिक पक्ष उजागर गर्नुभयो। सेनहरूको शीतकालीन दरबार तथा विदेशी सेनालाई जितगढी क्षेत्रमा भारतीय सेनाको अडा राख्न दिने शासकहरू लाचार कठपुतली भएको उल्लेख गर्दै विजयसागरले सो क्षेत्रको संरक्षण र संवर्द्धन नगर्नु सरकारको नालायकीपन हो भन्नुभयो। 

बटौली संरक्षण तथा सम्बर्द्धन समितिका उपाध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नं १ का अध्यक्ष मेहेन्द्र लिगलले बुटवलका जनता भारतीय सेनाको स्थायी कार्यालयको विरोधमा रहेको र त्यहाँ कुनै पनि किसिमको संरचना बनाउन नगरपालिकासँग स्वीकृति नभएको जानकारी दिनुभयो।  

राष्ट्रिय स्वाधीनताको लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्कीले भारतविरूद्ध जनयुद्ध गरेको भन्ने प्रचण्डले नै भारतीय राजदूतको बिदाइमा क्याम्प उपहार दिएर असली रूप देखाएको चर्चा गर्दै भारत त लुम्बिनी र जितगढी किल्ला नेपालमा भइरहनुमै आपति मान्छ भन्नुभयो। 

बुद्ध टोल विकास संस्था बुटवल १ का अध्यक्ष लक्ष्मी श्रेष्ठले व्यापक जनतालाई सचेत बनाई सडकमा उतार्नुपर्छ भन्नुभयो। 

कार्यक्रममा नेमकिपा रूपन्देहीका सदस्य कमलाले पनि बोल्नुभएको थियो।