January 20, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

सरकारको अकर्मण्यताले यातायात क्षेत्र अव्यवस्थित

भक्तपुर, २८ असोज। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले हाम्रो देशका प्रधानमन्त्री र मन्त्रीहरू विदेशी दलालहरूको घेरामा पर्दा देशको विकास गर्ने र आत्मनिर्भर बनाउने कुनै काम हुन नसकेको बताउनुभयो।  

भक्तपुर मिनिबस सेवा समितिको २३ औं साधारणसभा र १२ औं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले आजसम्मका कुनै पनि सरकारले आ–आफ्नो दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्नेबाहेक देशको यातायात क्षेत्रलाई व्यवस्थित गर्ने सोचाइ नै नराखेको हुनाले यातायात क्षेत्र अव्यवस्थित रहेको बताउनुभयो।  

देशको आत्मनिर्भरता विकास गर्नुपर्नेमा जोड दिंदै उहाँ अगाडि भन्नुभयो– विदेशबाट यातायातका साधनलगायत हरेक मेशिनरी र पार्टपूर्जा भित्र्याएर हामी कहिल्यै आत्मनिर्भर र समृद्ध बन्न सक्दैनौं।  

अध्यक्ष बिजुक्छेंले एकै देशको मात्र सवारीसाधन भित्र्याउनु र आर्थिक कारोबार गर्नु देशकै निम्ति घातक हुने औंल्याउनुभयो।  

बस, ट्रक हाँक्ने चालक र सहचालकहरूमा नागरिक भावना विकास गर्न बरोबर छलफल र कक्षा सञ्चालन आवश्यक भएको बताउँदै उहाँले काम गर्नेहरूको चेतनास्तर उठाउन सम्बन्धित क्षेत्रमा उच्च प्रगति गरेका देशहरूको भ्रमण गराउनुपर्ने बताउनुभयो।  

यातायात व्यवसायीहरू यातायात मजदुरहरू र ट्राफिक प्रहरी मिलेर दुर्घटना न्यूनीकरणका उपायबारे छलफल गरिरहनुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेंले ट्राफिक नियमको ज्ञान चालक–सहचालकसँगै सामान्य नागरिकलाई पनि दिनुपर्ने बताउनुभयो।  

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार योग्रेन्द्रनाथ कर्माचार्यले यातायात व्यवसायी फुटेर होइन एकताबद्ध भएरमात्र जनतालाई सेवा सुविधा दिन र आफ्नो व्यवसाय लाभदायी बनाउन सकिने बताउनुभयो।  

महासङ्घका वरिष्ठ उपाध्यक्ष यातायात व्यवसायीहरू प्रत्यक्ष राजनीतिमा आउन नचाहेको तर व्यवसायीका जायज मागको सुनुवाइ नहुँदा राजनीतिमै जानुपर्ने हो किन भन्ने स्थिति निम्तिएको गुनासो गर्नुभयो।  

महासङ्घका उपाध्यक्षद्वय केदार पौडेल र हरिशरण केसी  तथा महासचिव पुण्यप्रसाद सिटौला (सरोज) ले यातायात व्यवसायीहरूको लगानी र व्यवसाय सुरक्षित र सुनिश्चित हुनुपर्ने बताउँदै यातायात मजदुरविरोधी ऐन नियम संशोधन हुनुपर्छ भन्नुभयो।
नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठले यातायात व्यवसायमात्र नभई सार्वजनिक सेवा र सरोकारको क्षेत्र भएकोले व्यवसायी र सरकारबीच समन्वय र सहयोग हुनुपर्छ भन्नुभयो।  

मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा यातायात व्यवसायी महासङ्घ बागमती अञ्चल संयोजक राजेन्द्र रिमाल, कोटेश्वर पूर्व यातायात व्यवसायी समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासु, अरनिको यातायात व्यवसायी सङ्घका अध्यक्ष श्याम लामा, नेकां भक्तपुरका प्रतिनिधि रविन्द्र प्रधान भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद अवाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा सङ्घका महासचिव  दिनेश प्रधान र उपाध्यक्ष प्रमोद त्वानावासुले पनि बोल्नुभएको थियो। अधिवेशनअन्तर्गत कार्तिक १ गते नयाँ कार्य समितिको निर्वाचन हुँदैछ।