December 18, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

'सहकारीले संस्थाका महिला र युवा सदस्यहरूलाई प्रशिक्षित गर्नुपर्छ'

भक्तपुर, २८ असोज। सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको २३ औं साधारणसभा (प्रतिनिधिमूलक) को उद्घाटन समारोह नेमकिपाका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यता शनिबार सम्पन्न भएको छ।  

कार्यक्रममा अध्यक्ष बिजुक्छेंले सहकारी संस्थाहरूले राजनीतिशास्त्र, अर्थशास्त्र र भाषाका कक्षाहरू सञ्चालन गर्दै संस्थाका महिला तथा युवा सदस्यहरूलाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो। 

देश सङ्घीय संरचनामा गइसकेको अवस्थामा हरेक क्षेत्रमा महिला सहभागिता बढ्ने हुँदा महिला लक्षित तालिम बढाउन उहाँले सुझाव दिनुभयो। 

गणपूरक सङ्ख्या नपुगेको अवस्थामा संसदबाट विधेयक पास गराउनु राजनीति नबुझ्नु हो, अध्यक्ष बिजुक्छेंले भन्नुभयो।  

सरकारले समाजवादी देशमा सहकारीलाई अनुदान दिन्छ भने पूँजीवादी देशमा कर लगाइने बताउँदै उहाँले संस्थाले आदर निकेतन, पुस्तकालय आदि सञ्चालन गर्नेतिर लाग्न सुझाउनुभयो।  

डिभिजन सहकारी कार्यालय भक्तपुरका प्रमुख प्रेमकुमार श्रेष्ठले संस्थाले वित्तीय व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, सहकारी शिक्षा, बैङ्क वित्तीय संस्था भन्दा फरक ढंगलेे सहकारी ऐन कानून, मापदण्ड, विनियम पालना गर्नुपर्नेमा जोड दिनुभयो।   

सभापतिको आसनबाट संस्थाका अध्यक्ष हरिरत्न गोर्खालीले समाजवादी देशहरूको सहकारी अभियानबारे अध्ययन गर्नुपर्ने आवश्यकतामा जोड दिनुहुँदै चिनियाँ जनकम्युनको कार्यदिशामा हाम्रा सहकारी संस्थाहरूलाई दोहोर्‍याउनुपर्छ भन्नुभयो।  

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्का अध्यक्ष राधेश्याम सुवाल  संंस्थाका निवर्तमान अध्यक्ष एवं संचालक कृष्ण गोविन्द लाखाजुले पनि बोल्नुभएको थियो। 

कार्यक्रममा संस्थाका उपाध्यक्ष राजन लाखा, सचिव रूद्रनारायण लाखा, व्यवस्थापक राजेन्द्र दुमरू, कोषाध्यक्ष ईश्वरमान दुमरू, लेखा संयोजक रामप्रसाद लाखाजूलगायतले बोल्नुभएको भएको थियो।  

कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले एसईई र उच्च मावि तहमा उत्कृष्ट नतिजा हासिल गर्ने संस्थाका उत्कृष्ट विद्यार्थी, असल बचत/ऋण पदक र शेयर वृद्धि, सदस्यता वृद्धि सहयोगी सदस्यहरू र उत्कृष्ट सुझावकर्ता सदस्यलाई उपहार प्रदान गर्नुभयो।  

सभाले संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा प्रतिवेदनमाथि छलफल गरि पारित गर्नुका साथै संस्थाले स्थानीय तह वा त्यसका वडाहरूमा क्षेत्रगत साधारणसभा गर्ने सम्बन्धी विनियम संशोधन प्रस्ताव र सो सम्बन्धी कार्यविधि पनि पारित गर्‍यो। २०५१ सालमा स्थापना भएको यस संस्थाले २०७४ असार मसान्त सम्ममा १२,८३९ जना सदस्य र २६२७ जना बाल बचतकर्ताहरूबाट १ अर्ब ४५ करोड ३५ लाख भन्दा बढी कुल सम्पत्ति निर्माण गरेको छ।