January 20, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

चिकपाको १९ औं महाधिवेशनलाई शुभकामना सन्देश

भक्तपुर, ३१ असोज। आजदेखि चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन सुरु हुँदैछ। महाधिवेशन सफलताको कामना गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चिकपाका महासचिव सि चिन फिङलाई पठाउनुभएको शुभकामना सन्देशको पूर्ण विवरण प्रस्तुत छ: 

चिकपाको १९ औं राष्ट्रिय महाअधिवेशनको जानकारीले नेमकिपा केन्द्रीय समितिका सबै कामरेडहरू र सम्पूर्ण पार्टी सदस्यहरूको निम्ति खुशीको विषय बनायो। 

चिकपाले चिनियाँ विशेषता भएको समाजवादको झण्डालाई माथि उठाउँदै आफ्नो देशको आर्थिक प्रगति, राजनैतिक स्थिरता र रक्षा मामिलामा प्राप्त गरेको सफलता एसिया, अफ्रिका, ल्याटिन अमेरिकी देशहरू र त्यहाँका जनताको निम्ति उत्साह र सन्तोषको विषय बनेको छ। मार्क्सवादलाई व्यवहारिक रुपमा लागू गर्दाको अनुभव र अन्तर्राष्ट्रिय कूटनैतिक क्षेत्रमा चीनले हासिल गरेको कुटनैतिक सफलता साँच्चै प्रशंसनीय छ। 

रेशम मार्गमा जोडिने सबै छिमेकी र मित्र देशहरू र संसारका सबै विकासोन्मुख देशहरू चीनसँग समृद्धिको बाटोमा सँगै जाने हुँदा 'चिनियाँ सपना' चिनियाँ जनताका साथै विश्वकै जनताको सपना बन्नेछ। व्यवहार र समयले चीनको सपनालाई संसारकै 'साझा सपना' सावित गर्नेछ। 

चीनको प्राचीन रेशम मार्गले चीन एवम् मित्र देशहरूबीचको व्यापार र कूटनैतिक मार्ग बन्यो। २१ आंै शताब्दीको 'रेशम मार्ग' को सोच एक युगान्तकारी र दूरदर्शी चिन्तन हो। 'रेशम मार्ग' र सम्बन्धको चिन्तन संसारको निम्ति चिनियाँ जनताको योगदान थियो। 

बीचमा कुनै बाधा–व्यवधान आएन भने 'चीनको सपना' २१ औं शताब्दीमा विश्वका सबै देश र मानव जातिकै 'साझा सपना' सावित हुनेछ। 

महामहिम कामरेड सि चिनफिङको नेतृत्वमा आर्थिक, राष्ट्रिय रक्षा, सेना र हात–हतियारमा गरेको आधुनिकतम प्रगतिले विश्व शान्तिको निम्ति एक बलियो आधारको रुपमा लिइँदैछ। यो अतुलनीय प्रगति कामरेड महासचिवको सुदृढ नेतृत्वको सफलता हो। 

एसिया र संसारमा देखिएको धर्मको नाममा देखिएको अन्धराष्ट्रवाद र फासीवादको नयाँ संस्करण र आतङ्कवाद अमेरिकी साम्राज्यवादकै जलमलमा विकास भएको समस्या हो। यसबारे पनि जनवादी गणतन्त्र चीनको विदेश नीति अत्यन्त संयमित र सन्तुलित कूटनैतिक कौशलको रुपमा लिइँदैछ। यसले चीनले इतिहासमा कहिले अरु देशमाथि प्रभुत्व नखोजेको र चीनको प्राचीन दर्शन र संस्कृतिबाटै जनवादी गणतन्त्र चीनको विदेश नीति अनुप्राणित भएको हाम्रो पार्टी नेमकिपाको मत छ। 

भ्रष्टाचारलाई तत्कालै कारबाही गर्ने, पार्टीको सैद्धान्तिक पक्षलाई जोड दिने र अनुशासनलाई कडाइका साथ लागू गर्ने चिकपाको निर्णय अत्यन्त सान्दर्भिक र स्वागतयोग्य विषय हो। 

चिनियाँ गुणयुक्त समाजवाद आज प्रारम्भिक चरणमा रहेको र चिकपाको स्थापनाको सय वर्ष अर्थात् २०२० सम्ममा चिनियाँ समाजलाई मध्यम स्तरको समृद्धिशाली र जनवादी गणतनत्र चीनको स्थापनाको सय वर्ष अर्थात् २०४९ सम्ममा चीनलाई आधुनिक समाजवादी समाजको रुपमा निर्माण गर्ने योजना अत्यन्त उत्साहजनक, प्रगतिशील र क्रान्तिकारी पाइला हो। 

सि चिन फिङको सबल र सक्षम नेतृत्वले चिकपाले विचारधारात्मक क्षेत्र, आर्थिक, विज्ञान तथा प्राविधिक क्षेत्र, रक्षा र सांस्कृतिक क्षेत्रमा ऐतिहासिक सफलता प्राप्त गर्ने नेमकिपाको विश्वास छ। १९ औं महाअधिवेशनले चीनको मात्र होइन विश्वमै नयाँ आयामको निर्माण गर्ने छ भन्नेबारे हाम्रो दृढ विश्वास व्यक्त गर्न चाहन्छौं। 

अन्तमा चिकपाका महासचिव सि चिन फिङको नेतृत्वमा १९ औं महाअधिवेशनको पूर्ण सफलताको कामना गर्दछु र नेमकिपा र चिकपाको, नेपाली र चिनियाँ जनताको बन्धुत्वपूर्ण सम्बन्ध अझ बलियो र अर्थपूर्ण हुँदै जाने विश्वास गर्दछु। धन्यवाद  !