January 20, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

'शासक दलहरूलाई उदाङ्ग्याउन कुनै शक्तिले रोक्न सक्दैन'–अध्यक्ष रोहित

भक्तपुर, ३१ असोज। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले जनताबीच शासक दलका गलत काम उदाङ्ग्याउन नेमकिपालाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ।  

मङ्गलबार नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उहाँले पञ्चायतकालीन प्रतिकूल समयमा समेत देशका विभिन्न दुर्गम जिल्लामा गएर जनताको सेवा गरेको नेमकिपालाई अहिलेको बन्दोबस्तमा कसैले पनि जनताबीच जान रोक्न नसक्ने प्रस्ट पार्नुभयो।  

'देश र जनताको हितमा हामी शासक पार्टीभित्र पनि नेमकिपा खोल्नेछौं', अध्यक्ष रोहितले भन्नुभयो। 

उहाँले नेमकिपालाई सदनमा नपुर्‍याए शासक दलहरूले देश बेच्न पनि पछि नपर्ने बताउँदै देश जोगाउन देशभरका जनताले नेमकिपाको पक्षमा मतदान गर्ने विचार राख्नुभयो। 

नेपाली जनताको सबभन्दा ठूलो शत्रु भारतीय विस्तारवाद र एकाधिकार पूँजी भएको चर्चा गर्दै अध्यक्ष रोहितले नेपालका शासक दलहरू–काङ्ग्रेस, एमाले र माओवादी केन्द्र भारतीय दलाल पार्टी भएको धारणा राख्नुभयो।  

'नेपाली जनताले आज भोग्नुपरेको दुःखका कारण काङ्ग्रेस, एमाले र माओवादी केन्द्र नै हुन्', उहाँले भन्नुभयो। 

ख्वप विश्वविद्यालयको विधेयक सदनमा पेश नभएको प्रति विरोध जनाउँदै शासक दललाई घूस खुवाएर विश्वविद्यालय स्थापना गर्ने पक्षमा आफू नरहेको बताउनुभयो।  

उहाँले नेपाली जनताले नेपालका शासक दलहरूविरुद्ध साम्राज्यवाद र विस्तारवादविरोधी विश्वविद्यालयको स्थापना गर्ने विचार व्यक्त गर्नुभयो।  

'उनीहरूले एक दिन हामीलाई टाउकोले टेकेर पनि विश्वविद्यालय दिन बाध्य हुनेछन्', अध्यक्ष बिजुक्छेंले भन्नुभयो।नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले एमाले र माओवादी केन्द्रबीचको गठबन्धन न त प्रगतिशील, न वामपन्थी न त कम्युनिष्ट गठबन्धन भएको बताउनुभयो।  

उहाँले भारतीय विस्तारवादको चाहनाअनुसार संविधान संशोधन गर्न दुईतिहाइ पुर्‍याउन कथित वाम तथा प्रजातान्त्रिक गठबन्धन बनेको चर्चा गर्दै राष्ट्रिय कलकारखाना र उद्योगहरू सञ्चालन नहँुदा ७० लाखभन्दा बढी नेपाली युवाहरू एक सयभन्दा बढी देशमा सस्तो ज्यामी बन्न बाध्य भएको बताउनुभयो।  

सचिव सुवालले शासक दलहरूले निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्दा निर्वाचन आयोगका पदाधिकारीहरू निरीह बनेको बताउनुभयो। 

उहाँले सबै जनतालाई शिक्षा निःशुल्क र व्यक्तित्वमा समान अवसर प्रदान भएमात्र समानुपातिक निर्वाचन प्रणालीबाट लक्षित समुदाय लाभान्वित हुनसक्ने बताउनुभयो। 

नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा विदेशी पूँजी हावी बन्दै जाँदा देशको सार्वभौमिकतामा समेत खतरा हुनसक्ने यथार्थलाई ध्यानमा राखी नवउदारवादविरोधी आन्दोलनलाई अझ अघि बढाउन जरुरी भएको बताउनुभयो।  

उहाँले स्थानीय तहको निर्वाचन भएको महिनौं भइसक्दा समेत सरकारले प्रष्ट कानुन अझै दिन नसक्नु बिडम्बनापूर्ण भएको बताउँदै ख्वप विश्वविद्यालय स्थापनाको अभियानलाई हरेक प्रतिकुलताबीच अघि बढाउने धारणा राख्नुभयो। 

नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले व्यवस्थापिका–संसदमा नेमकिपाले वैचारिक सङ्घर्षमा सफलता प्राप्त गरेको बताउँदै नेमकिपाका सांसदहरूको भूमिकालाई सदनको प्राण भन्ने गरिएको चर्चा स्मरण गर्नुभयो।  

उहाँले सदनका विभिन्न समितिहरूमा नेमकिपाले नेपालका प्राकृतिक स्रोतहरूमाथि भारतीय एकाधिकार पूँजीको हालीमुहालीविरुद्ध लगातार सङ्घर्ष गरेको बताउनुभयो।  

नेमकिपाका केन्द्रीय सदस्य एवं काभ्रे जिल्लाका अध्यक्ष कृष्णकुमार वैद्यले संविधानको प्रस्तावनामा समाजवादउन्मुख भन्ने शब्द राखेर शासक दलहरूले आर्थिक समानतालाई बेवास्ता गरेको विचार राख्नुभयो। 

नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडांै जिल्ला अध्यक्ष नारायण महर्जनले माओवादी केन्द्र र एमालेबीचको गठबन्धन अनैतिक भएको बताउँदै त्यस्ता राजनीतिक अनैतिकताविरुद्ध लड्दै नेमकिपाले समाजवादी आन्दोलनको दिशालाई अझ अघि नेतृत्व गर्ने बताउनुभयो।  

नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले व्यापक नेपाली जनताको हित गर्न नेमकिपाले सदनभित्र निःशुल्क र अनिवार्य शिक्षा  

बन्दोबस्तको लागि अथक सङ्घर्ष गरेको तर शासक दलहरू पूँजीपति वर्गको हितमा ती प्रावधानको विरोधमा उभिने गरेको विचार राख्नुभयो।  

नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष सुरेन्द्रराज गोसाईले नेपालको कम्युनिष्ट आन्दोलनमा एमाले र माओवादी केन्द्रले बर्नस्टिन, खु्रश्चेभ र गोर्भाचोभको लाइन अवलम्बन गरेको भन्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने जिम्मेवारी कामदार जनताको काँधमा आएको बताउनुभयो।  

नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा भएको सभामा नेक्राविसङ्घका अध्यक्ष नीरज लवजूले पनि बोल्नुभएको थियो।  

कार्यक्रमको बीच–बीचमा आस्था सांस्कृतिक परिवार र गायक विनोद विकले गीत प्रस्तुत गर्नुभएको थियो।