November 17, 2017

सम्पादकीय

बाँकि सम्पादकीय
 

दास मानसिकता नहटेसम्म देश समृद्धि नहुने

राजनीतिक दलको उद्देश्य कसैले कसैलाई हराउनु, जिताउनु र सरकारमा जानुमात्र होइन। बहुमत प्राप्त दलले सरकारको नेतृत्व गर्छ, गर्नुपर्छ, यसमा कुनै सन्देह छैन। सरकारमा पुग्नु र जानुको अर्थ आवश्यकताभन्दा बढी मन्त्री नियुक्ति गर्नु, कुनै पनि उच्च पद पाउन भागवण्डा गर्नु होइन। सरकारको गतिविधि हेर्दा कहिलेकाहीं सत्तारूढ दलभित्र इमानदार, निःस्वार्थी, देशभक्त तथा देश र जनताप्रति  समर्पित नेताहरू नै छैनन् कि भन्ने सोच्न बाध्य पार्छ। ५० सदस्यीय मन्त्रिमण्डल आवश्यक छैन भन्ने कुरा नेका र माओवादी  केन्द्रका नेताहरूलाई थाहा नभएको होइन। त्यो संवैधानिक व्यवस्थाविपरीत छ भन्ने कुरा राम्ररी थाहा छ। तर पनि ती नेताहरू संविधानभन्दा बाहिर गएर मन्त्री नियुक्ति गर्छन्। आखिर किन? कहिलेकाहीं नेतृत्व पक्षले वाध्यता ठान्छ र लाचार व्यक्त गर्छ।  

अनावश्यक मन्त्री नियुक्ति गर्नु भनेको देशको राजस्व सिध्याउनु हो। मन्त्री बनेर व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्नेतर्फ नै सत्तारूढ दलहरू केन्द्रित छन्। राजस्वमा रजाइँ गर्न पल्केका मन्त्रीहरू देश र जनताको सेवामा जुट्दैनन्, जुटेको पाइँदैन। मन्त्रीहरूको ध्यान भ्रष्टाचार नियन्त्रण गर्ने, घूस अन्त्य गर्ने, आर्थिक अतियमितता रोकेर आदर्शोन्मुख समाज स्थापना गर्नेतर्फ पुग्दैन। प्राप्त गणतन्त्र संस्थागत गर्दै थप अधिकार पाउन जुट्दैन। सामाजिक न्याय, सेवा र समानताको कुरा गरिंदैन। देशको कहाँ, के–कस्ता स्थानीय स्रोत  र साधन छ खोजनीति गरी त्यसको अधिकतम उपयोग गरी देश विकास गर्नेतर्फ लाग्दैन। कहाँ कहाँ के कस्ता उद्योग र कलकारखानाहरू स्थापना गरेर देशको लागि चाहिने आधारभूत आवश्यकताहरू पूर्ति गर्ने, देशको आयस्रोत बढाउने र बेरोजगारी दर घटाउनेतर्फ ध्यान गएको हुँदैन। आफ्नै देशमा रहेको जनशक्ति परिचालन गर्ने, उनीहरूसँग रहेको सीप, कला र अनुभवको उपयोग गर्नेतर्फ सरकारको ध्यान पुगेको छैन।  

देश समृद्धि बनाउने ध्वाङ फुक्छ, तर देशलाई कसरी समृद्धि बनाउने सन्दर्भमा कुनै नीति निर्णय गरिंदैन, आवश्यक पूर्वाधार तयार गरिंदैन। नेपाल पछि पर्नुको कारण पनि सरकारले देश विकासमा चासो नराखी दलगत र व्यक्तिगत स्वार्थमा अल्भि्कनु हो। प्रजातन्त्र स्थापना भएको लामो समय बितिसक्दा पनि नेपाल विकासशील देश पनि बन्न सकेको छैन। सरकारको दास मानसिकता नहटेसम्म र भारतनिर्भर देश भइरहेसम्म देशले विकासमा सन्तोषको स्वास फेर्न पाउने छैन।