September 24, 2017

सम्पादकीय

बाँकि सम्पादकीय
 

पदको लागि दल बदल्ने काम गलत

दर्शन, सिद्धान्त्त र विचारको आधारमा राजनीतिक दल गठन हुन्छ, हुनुपर्छ। सिद्धान्त्त र विचार छोडेर राजनीति गर्दा, राजनीतिक क्रियाकलाप अघि बढाउँदा दलको उद्देश्य पूरा हुँदैन, त्यस्तो दलल दिशा निर्देशन गर्नसक्दैन। दलमा आबद्ध कति नेता, सांसद र कार्यकर्ताहरू सिद्धान्त्त र विचारहरूको ख्याल नगरी अवसर खोज्छन्, व्यक्तिगत स्वार्थ पूरा गर्न अघि बढ्छन्। अहिले असोज २ गते हुन गइरहेको प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा नेता तथा कार्यकर्ताहरू दल बदल्ने होडबाजीमा जुटेका छन्। निर्वाचनको पूर्व सन्ध्यामा आफूलाई उम्मेदवारीको टिकट दिएन भनी असन्तुष्टी पोख्दै उनीहरू दल बदल्न थालेका हुन्। 

दलले उम्मेदवारी चयन गर्दा योग्य व्यक्ति छान्नुपर्छ, देश र जनताको सेवा गर्ने जनसेवक, समाजसेवी, देश र जनताप्रति समर्पित व्यक्ति छान्नुपर्छ। भ्रष्टाचार, कमिसन, अनियमिततामा फसेका या यस्तै जीवनमा दाग लागेका, जाँडरक्सी खाएर समाजमा हो–हल्ला गर्ने, उच्छृङखल, उत्ताउला स्वभावका व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिनु हुँदैन। गुट–उपगुटको भन्दा पनि जनताले पत्याउने या विश्वास गर्ने कार्यकर्ताहरूलाई उम्मेदवारी दिलाउनुपर्छ। त्यस्ता उम्मेदवारी नदिनाले पनि कार्यकर्ताबीच असन्तोष बढेको पाइन्छ। 

उम्मेदवारी आफूलाई दिएन भनेर दल बदल्नु ठीक होइन। दल बदलेर कुनै दलको सिद्धान्त्त र विचार सही हुने होइन। पदको लागि दल बदल्नु अवसरवाद हो। कुनै दलले गलत व्यक्तिलाई उम्मेदवारी दिलाउँछ भने सच्चा कार्यकर्ताले त्यसको विरोध गर्नुपर्छ, विरोध गर्न सकिन्छ। उम्मेदवारी नपाएको निहुँँमा दल बदल्ने, दल बदल्ने चेतावनी दिने काममा सच्चाइ छैन। त्यो समाधानको उपाय पनि होइन। अहिले दल बदल्ने होडबाजी नेका, एमाले, माओवादी केन्द्र, मधेसवादी दलमा देखिएका छन्। एउटा दलबाट अर्को दलमा छिरेका छन्। उम्मेदवारी बन्ने लोभमा दल बदल्दा एकछिन गौरवको अनुभूति हुनसक्छ। तर, पछि आफू प्रवेश गरेको दल पनि अनेकानेक निहुँ खोजेर फेरि अर्को दल बदल्न सकिन्छ। उम्मेदवारी चयन असन्तुष्ट भएकै कारण सोमबार सप्तरीमा सङ्घीय समाजवादी फोरमका उपाध्यक्षको घरमा असन्तुष्ट कार्यकर्ताले ढुङ्गामुढा गरे, आगो लगाउने असफल प्रयास गरे। जस्तो असन्तुष्ट भए पनि व्यक्तिको घरमा रिस पोख्ने काम अराजक हो। 

दलले आफ्ना नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण नदिंदा छिनछिनमा दल बदल्ने काम बढेको हो। नेता तथा कार्यकर्ताहरूलाई राजनीतिक र सैद्धान्त्तिक दृष्टिले प्रशिक्षित गर्नुपर्छ। सिद्धान्तनिष्ठ नेता कार्यकर्ताहरू पद र पैसाको लोभमा फस्दैनन्, उम्मेदवारीको लागि दल बढ्ल्दैनन् पद र पैसा पाउनको निम्ति सरकारमा जानकै निम्ति कसैले दल बदल्छ र पात्रै फुटाउँछ भने त्यो खोटो विचार नै मान्नुपर्छ।