September 24, 2017

सम्पादकीय

बाँकि सम्पादकीय
 

ठूला दलको चुनावी शैली नै गलत

प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचनको चहलपहल बढेको छ। राजनीतिक दलले आ–आफ्ना उम्मेदवारीको नाम चयन गर्न भइरहेको गृहकार्य र नाम सार्वजनिक भइसकेको सन्दर्भमा निर्वाचनको चर्चा गाउँ बस्तीमा हुनु अस्वाभाविक होइन। निर्वाचन कुनै दललाई पहिलो र दोस्रो ठूलो बनाउन हुने होइन। देश र जनताको सेवा गर्न र गराउन गाउँ बस्तीको विकास गर्न निर्वाचन भएको हो। बनेको संविधान लागू गर्न, गणतन्त्र संस्थागत गर्न निर्वाचन भएको हो। स्थानीय निकाय जनप्रतिनिधिमार्फत सञ्चालन गर्न र जनताको हक–अधिकार गाउँ गाउँ र बस्ती बस्तीबाट उपभोग गर्न र गराउन निर्वाचन आवश्यक छ।  

हो, निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र मर्यादित हुनुपर्छ। प्रत्येक राजनीतिक दल र दलका उम्मेदवारहरुले आचारसंहिता पालना गर्नुपर्छ, आचारसंहिताभित्र रहेर प्रचार प्रसार र गतिविधि गर्नुपर्छ, यो निर्वाचनको नतिजा आएसम्म सबैले पालना गर्नुपर्छ। तर ठूला दलका नेता तथा कार्यकर्ताहरु आचारसंहिताको ठाडो उल्लङ्घन गर्छन्, ठाडो उल्लङ्घन गरे पनि निर्वाचन आयोग तमासे बनिरहन्छ। त्यसो त निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने दलका उम्मेदवारको उम्मेदवारी खारेज गर्ने उद्घोष गर्छ, पहिलेको निर्वाचनमा पनि उद्घोष नभएको होइन। तर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने दलका उम्मेदवारलाई केही गर्न सकेको छैन। ठूला दलको अगाडि निर्वाचन आयोग आफ्नो मत जाहेर त गर्छ तर पूरा गर्दैन।  

प्रत्येक वर्ष ठूला दलहरु आचारसंहिताविपरीत गतिविधि गर्छन्। निर्वाचन आयोगले न त्यसको खोजीनीति गर्छ न त त्यसको मूल्याङ्कन गरेर कारबाहीको प्रक्रिया नै अघि बढाउँछ। आ–आफ्नो दललाई पहिलो बनाउने भनी प्रचारमा लागेको यो निर्वाचनमा पैसाको खोलो बग्नेमा शङ्का छैन, मत आफ्नो पक्षमा लिन लोभलालच देखाइनेमा शङ्का छैन। ठूला दलको चुनावी शैली नै गलत छ। दलले त असल, योग्य, देश र जनता पनि समर्पित तथा निःस्वार्थपूर्वक सेवा गर्ने उम्मेदवारलाई जिताउन आग्रह गर्नुपर्ने हुन्। तर त्यो भइरहेको छैन। ठूला दलको चुनावी प्रचारको गलत शैलीले पनि यो निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण हुनेछैन।  

निर्वाचन सम्पन्न गर्नुमात्र निर्वाचन आयोगको जिम्मेवारी होइन। निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण बनाउन र निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने दलका उम्मेदवारलाई कारबाही गर्नुपर्छ। दोषीमाथि कारबाही गर्ने आँट नगरेसम्म निर्वाचन धन, बल र आश्वासनकै भरमा दलका उम्मेदवारहरु जित्छन् र देश जनताको सेवा गर्ने सच्चा उम्मेदवारहरु हार्छन्। ठूला दलका नेताहरुले सिद्धान्त, दर्शन र विचारको आधारमा राजनीति नगरेकोले यो समस्या देखिएको हो ।