September 24, 2017

सम्पादकीय

बाँकि सम्पादकीय
 

देशमा विकासले काँचुली फेर्ने कहिले?

निर्वाचनको पूर्वसन्ध्यामा दल बदल्नु, राजीनामा दिनु र उम्मेदवारी चयनको सन्दर्भमा कुटपिट हुनु राजनीतिक आचरण होइन। असन्तुष्ट हुनेबित्तिकै दल त्याग्ने या अरू दलमा प्रवेश गर्ने कामले ती व्यक्तिहरू सैद्धान्तिक र वैचारिक रूपले सचेत नभएको सङ्केत गर्छ। चित्त नबुझेका कुरा नेता तथा कार्यकर्ताले दलभित्र असन्तोष पोख्न पाउँछन्, फरक मत राख्न सक्छन्। असन्तोष हुनेबित्तिकै पार्टी छोड्ने र अर्को दलमा प्रवेश गर्ने काम न्यायोचित देखिंदैन। पदको निम्ति भएको यो दल प्रवेश, राजीनामा र कार्यकर्ताबीचको हानथापले देशमा राम्रो सन्देश जान्दैन। अनि जनतामा राजनीतिप्रति किन वितृष्णा बढ्दैन?  

ठूला दलका नेताहरूको गतिविधि, अभिव्यक्ति हेर्दा राजनीति भनेको मानौं जसरी भए पनि दल ठूलो बनाउने, सत्तामा जाने, भागवण्डा गर्ने, आफूले भनेझैं भएन भनी मारपिट गर्ने जस्तो भइरहेको छ। यो ढङ्गले राजनीति गरेर कसरी सच्चाइमा पुग्छ? जनतामा कसरी राजनीतिक चेतना बढ्छ? दलको उद्देश्य कसरी पूरा हुन्छ? यसले संविधान लागू हुँदैन। गणतन्त्रलाई संस्थागत गर्न सकिंदैन। जहिल्यै अराजकता, अस्थिरता र सङ्कटको भूमरीमा फसेर देश कसरी बन्छ? यसरी दलका नेता तथा कार्यकर्ताहरूमा देखिएको अराजकता, मनपरी र उम्मेदवारी बन्ने होडबाजीले पार्टीभित्र सैद्धान्तिक, वैचारिक बहस नभएको देखाउँछ।  

राजनीतिक दलले घोषणापत्र त जारी गर्छ तर घोषणापत्रअनुसार अघि बढ्दैन। घोषणापत्रलाई देखाउने दाँत सम्झेर अर्कै व्यवहार गरिरहेको हुन्छ। ठूला दलका ती नेता तथा कार्यकर्ताहरू न त दलको सिद्धान्तअनुसार राजनीतिक गतिविधि गर्छन् न त निर्वाचन आयोगको आचारसंहितामा रहेर चुनाव प्रचारप्रसार नै गर्छन्। तिनीहरूको राजनीति देखेर नेपाली जनता वाक्कदिक्क भइसकेका छन्। तर विडम्बना नेपाली मतदाता त्यस्तै दलका उम्मेदवारलाई मत हाल्छन् र जिताउँछन्।  

ठूला दलका नेताहरूलाई देशबारे चिन्ता र चासो छैन। देश साँगुरो हुँदैछ। नेपालको स्रोत र साधन विदेशी शक्ति राष्ट्रको हातमा पर्दैछ। नदीनाला भारतले कब्जा गर्दैछ। सीमा अतिक्रमण भइरहेको छ। यसरी नेपालको स्वाधीनता र सार्वभौमसत्तामा आँच पुग्दा पनि सरकार तमासे बन्दैछ। अदूरदर्शी नेताहरूको यस्तै गैरजिम्मेवारी र बेवास्ताले गर्दा देशको दुर्गति भइरहेको हो। देशले विकासमा काँचुली फेर्न नसकेको हो। देशको मुख्य–मुख्य स्रोत र साधन विदेशलाई छोडेर, विदेशको उठवसमा सरकार चलाएर पनि देश कहिल्यै उँभो लाग्छ? देशको यो दुर्भाग्य र विडम्बना नेपाली जनताले कहिलेसम्म हेरिराख्ने? नेपाली जनताको काम के तिनै ठूला दलका देशविरोधी र अराजक गतिविधि हेरेर सन्तोषको सास फेरिरहने? सरकारको नेतृत्व गर्ने दलको घैंटोमा घाम लाग्ने कहिले? चिन्ताको विषय छ।