November 17, 2017

सम्पादकीय

बाँकि सम्पादकीय
 

सिद्धान्तहीन राजनीतिको परिणति

प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचनको निम्ति बुधबार मनोनयन दर्ता भयो। त्यसको सिलसिलामा अनेक अपेक्षित र अनपेक्षित समाचारहरू सुन्न, हेर्न र पढ्न पायौं। आफू आवद्ध राजनीतिक पार्टीले अपेक्षित पदको लागि उम्मेदवारीको टिकट नपाएपछि पार्टी परित्याग गरी अर्को पार्टीमा लाग्ने नेता कार्यकर्ताहरू पनि कैयौं देखिए। एउटै पार्टीभित्र उम्मेदवारका निम्ति कुटाकुटमात्र होइन खुकुरी हानाहान भएको सुनियो। कुनै कुनै नगरपालिकामा एउटै पार्टीका दुईजनाले प्रमुख पदका निम्ति उम्मेदवारी दर्ता गराएको पनि पढियो। कोठाभित्रका बैठकहरूमा भएका मारमुङ्ग्री र हिलो छ्यापाछ्यापको त वर्णन गरी साध्य हुनेछैन। फेरि पनि निर्वाचन आयोगले '२ नम्बर प्रदेशमा मनोनयन शान्तिपूर्ण' भनी विज्ञप्ति निकाल्यो। देखिने गरी गोली चलेन र मानिस मरेन। त्यसैले शान्तिपूर्ण भएको निचोड निकालियो। 

स्थानीय तहले के गर्नुपर्छ, मेयर, उपमेयर र वडा अध्यक्षहरूले समुदायको हकमा के–के गर्ने र गर्नुपर्छ भनी बहस भएको खासै सुनिएन। बरु को मयेेर को उपमेयर र को–को वडा अध्यक्ष बन्ने भन्ने विवादमै घम्साघम्सी गरेको देखियो। यसो हुनु कुनै आश्चर्यपूर्ण घटना भने होइन। बरु हाम्रो देशका शासक राजनीतिक पार्टीहरूले आज पर्यन्त गरिरहेको सिद्धान्तहीन राजनीतिको अनुल्लङ्घनीय परिणतिमात्र हो। आ–आफ्नो राजनीतिक दर्शन र सिद्धान्तका आधारमा निःस्वार्थ रुपमा जनताको सेवा गर्नेभन्दा पदमा पुगेर कानुनी र गैरकानुनी रुपले अकूत सम्पति कमाउने, देखिने र नदेखिने गरी भ्रष्टाचार गर्ने र पदको धाकको दुरुपयोग गरी फाइदा उठाउने शासक दलका नेताहरूको देखासिकी गर्नका निम्ति ती पार्टीका नेता कार्यकर्ताहरूले पदका निम्ति मरिहत्ते गरेका छन्। पहिले जथा राजा तथा प्रजा भनिएझैं अहिले 'जथा नेता तथा कार्यकर्ता' भएको हो। ती दलमा विकृति र विसङ्गति झाङ्गिएकाले 'खुचिङ' गरेको होइन बरु देशको दुर्दशाको खुलासामात्र गरेको हुँ। देशको राजनीति स्वच्छ भएको र देश र जनताको हितमा सार्थक भएको देख्न चाहने साना–ठूला, सहर–गाउँका पार्टीभित्रका र पार्टी बाहिरका हरेक देशभक्त जनताले राजनीतिक दलभित्रको सिद्धान्तहीन राजनीतिको निर्मम आलोचना गर्नुपर्छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने “बहादुरी”को विरोध गर्नुपर्छ। धाक–रवाफ भएकालाई होइन, योग्य र इमानदार व्यक्तिलाई पदमा पुर्‍याउन पहल गर्नुपर्छ। 

–सुरज सिंह