November 17, 2017

सम्पादकीय

बाँकि सम्पादकीय
 

नेपाल निरक्षर: प्रजग कोरिया शिक्षाको देश

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस। प्रत्येक वर्ष साक्षरता दिवस मनाइन्छ, मनाइरहेको छ। तर ती दिवसहरू झारा टार्ने ढङ्गले मनाइरहेको देखिन्छ। वर्षको एकचोटि साक्षरता दिवस मनाएर मुलुक साक्षर बन्दैन। नेपालले पनि प्रत्येक वर्ष साक्षरता दिवस मनाउँदै आएको छ। नेपाल अहिलेसम्म साक्षर मुलुक बनेको छैन। सत्तासीन दलका नेताहरूको ध्यान नपुगेको हुँदा साक्षर मुलुक नबनेको हो। नेपालको गाउँ बस्तीमा विद्यालय पुगेको छैन। विद्यालय जान बाटोघाटोको बन्दोबस्त छैन। विद्यार्थीहरू ज्यानको बाजी राखेर कहिले खोला पार गर्नुपर्छ, कहिले बिग्रेको पुलबाट पार गर्नुपर्छ त कहिले पहिरोको जोखिम मोलेर भीड पाखाको साँगुरोबाट हिंड्नुपर्छ। यस्तै समस्याका कारण कति विद्यार्थीको ज्यान गइरहेको छ। त्यस्तै भयले कति विद्यार्थीहरू विद्यालय छोड्छन्।  

प्रजातन्त्र स्थापना भएको दसकौं बित्यो तर पनि मुलुक साक्षर बन्न सकेको छैन। प्रजग कोरियालाई शिक्षाको देश भनिन्छ। त्यहाँ निरक्षर कोही छैनन्। देशलाई बुद्धिजीवीकरण गर्न त्यहाँ किसान, मजदुर र माझीहरूको निम्ति छुट्टै कलेजको बन्दोबस्त हुन्थ्यो। शिशु स्याहार केन्द्र र शिशुशालाको सङ्ख्या हजारौं हुन्थ्यो। अनिवार्य र निःशुल्क शिक्षाको बन्दोबस्त छ। प्रजग कोरियाले शिक्षामा गरेको प्रगतिकै कारण शिक्षाको देश भनिएको हो। प्रजग कोरिया शिक्षामा मात्र होइन सरसफाइमा पनि अगाडि छ। त्यसैले प्रजग कोरिया सफाइको देश पनि हो। सरसफाइ र शिक्षाको देश बनाउन सफल प्रजग कोरियाले अर्को प्रगति गरेको छ, त्यो हो आणविक। एउटा सानो देश कोरियाले विश्वकै शक्तिशाली र ठूलो देशलाई आणविक परीक्षण गरेर हाँक दिइरहेको छ। यो प्रजग कोरियाको चमत्कारपूर्ण कार्य हो। आफ्नो देशमा आक्रमण गरे ऊ प्रत्याक्रमण गर्न तयार छ। प्रजग कोरियाले विश्वलाई चकित पारेको छ। विश्वभर आफ्नो साम्राज्य फैलाउन चाहने अमेरिकाको लागि यो ठूलो हाँक हो।  

प्रजग कोरियाको प्रगति हेर्दा नेपाल कति पछाडि कति पछाडि। प्रगति र अगतिको कुरा सरकारको नेतृत्वमा भर पर्छ। चीनले गरेको प्रगति पनि सरकार र सरकारको नेतृत्व गर्ने दलको भूमिकामा भर पर्छ। क्युवाले स्वास्थ्यको क्षेत्रमा गरेको प्रगति विश्वकै लागि अनुकरणीय छ। सहरको टोल र टोल गाउँ बस्तीमा चिकित्सकहरू छन्, चिकित्सकहरू पुग्छन्। के यो शिक्षामा भएको प्रगति होइन? तर नेपाललाई सरकारले साक्षर मुलुक पनि बनाउन सकेको छैन। न सरकारले शिशु स्याहार केन्द्र र शिशुशाला खोल्नेतर्फ ध्यान दिएको छ न त सस्तो सुलभमा मेडिकल कलेज खोलेर बढीभन्दा बढी चिकित्सिक उत्पादन गर्ने काम गरेको छ। सस्तो सुलभमा मेडिकल कलेज खोल्न चाहने स्थानीय निकायलाई पनि सरकारले स्वीकृत दिने आँट गरेको छैन। आफूले पनि नखोल्ने अरूलाई पनि खोल्न नदिने सरकारको चालाले देशको शिक्षामा कसरी प्रगति हुन्छ?