November 17, 2017

सम्पादकीय

बाँकि सम्पादकीय
 

देशको आम्दानी बाँडीचुँडी लिने?

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा दलका नेता तथा कार्यकर्ताहरू प्रचार प्रसारमा जुटेका छन्। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र मर्यादित बनाउन निर्वाचन आयोगले यसअघि नै आचारसंहिता जारी गर्‍यो। आयोगले आचारसंहिता उल्लङ्घन गर्ने दलका उम्मेदवारहरूको उम्मेदवारी खारेज हुने चेतावनी दियो। आयोगको त्यो चेतावनी ठूला दलका नेता तथा कार्यकर्तालाई लाग्दैन। आचारसंहिता उल्लङ्घन सत्तासीन दलका नेता तथा कार्यकर्ता नै गर्छन् र गरिरहेका छन्। हाल निर्वाचनको प्रचारप्रसारको क्रममा ठाउँ–ठाउँमा भोजैभोज खुवाइरहेको जानकारी सञ्चारमाध्यममा आइरहेको छ। झण्डावाल मन्त्रीको गाडीमा मन्त्रीले भोट मागिरहेको स्थितिमा स्थानीय जनताले गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको खबर पनि छापामा आयो। 

दलहरूको सम्पूर्ण शक्ति प्रदेश नम्बर २ मा केन्द्रित भएको कारण व्यवस्थापिका संसदमा सांसदहरूको उपस्थिति नगण्य रह्यो। गणपूरक सङ्ख्या नपुगेको कारण कति विधेयक पारित भएन। सरकारले ल्याएको कति विधेयक देशको राजस्व सिध्याउने खालको छ। देश र जनताको सेवा गर्नुपर्ने सत्तारुढ दलका नेताहरू अहिले देशको राजस्व सिध्याएर पैसा कमाउने बाटोमा लागेका छन्। सरकारले चरणवद्ध निर्वाचन घोषणा गरेर खर्च बढायो। अहिले पूर्वपदाधिकारीहरूलाई घर खर्चसँगै मासिक तलब दिने विधेयकको तयारी गरियो। मतको आधारमा प्रत्येक दललाई आर्थिक सहयोग दिने प्रस्ताव पहिले ल्याइएको थियो। सत्तारुढ दलका नेता, मन्त्री तथा सांसदहरूलाई स्वास्थ्योपचारको नाउँमा लाखौं करोडौं रकम दिइएको थियो। संवैधानिक बन्दोबस्तविपरीत ठूलो आकारको मन्त्रिमण्डल बनाइयो। यसरी सरकारले देशको आम्दानी बाँडीचुँडी लिने नीति ल्यायो। 

अहिले तिनै दलका नेताहरू प्रदेश नम्बर २ को निर्वाचनमा आफ्नोतर्फ मत ल्याउन पैसा खन्याउँदै छन्। तिनै दलका नेताहरू आ–आफ्नो दल पहिलो बन्ने उद्घोष गर्दै छन्। पहिलो दल बन्ने विश्वास नेका, एमालेले मात्र होइन माओवादी केन्द्रले पनि फुकेको छ। निर्वाचनमा कुनै न कुनै दल ठूलो बन्छ, ठूलो हुन्छ। तर ठूलोको भजन गाएर मत तान्ने कुत्सित कार्य तीन ठूला दलले गरिरहेका छन्। यथार्थमा तिनै दलले ठूलो बन्ने विचार व्यक्त गर्नु गलत हो। यसरी निर्वाचनको पूर्वसन्ध्यामा सत्तासीन दलका नेताहरू अनेक प्रलोभन गर्दैछन्, सपना बाँड्दै छन्, झूटको खेती गर्दैछन्। 

निर्वाचन आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित हुने बताए पनि त्यस्तो लक्षण देखिएको छैन। ठूला दलका नेताहरूलाई लोभलालच नदेखाई, पैसा नबाँडी, भोजभतेर नगरी निर्वाचन जित्दैन भन्ने थाहा छ। प्रत्येक पटकको निर्वाचनमा ती दलले गर्दै आएका पनि हुन्। प्रदेश नम्बर २ को निर्वाचनमा पनि धाधली हुनेमा शङ्का छैन, निर्वाचन आचार संहिता उल्लङ्घन हुनेमा शङ्का छैन। ठूला दलहरूको दृष्टिकोण गलत भएको हुँदा देशको राजनीतिले गलत बाटो लिइरहेको हो।