January 20, 2018

सम्पादकीय

बाँकि सम्पादकीय
 

इतिहासले न्याय खोज्दैछ

पश्चिमी देशका प्रजातन्त्रमा हत्या–हिंसा, सामाजिक अपराध र यौनकाण्डले छायाँजस्तै पछ्याइरहेका हुन्छन्। त्यसको अर्थ हो – समाजको प्रतिबिम्ब राजनीतिमा प्रस्टै देखिन्छ। संरा अमेरिकामा झण्डै सालाखाला १० मध्ये एक राष्ट्रपतिको हत्या हुन्छ भन्ने अनुमान गर्छन्। दास मोचनका समर्थक सोर्‍हौं अमेरिकी राष्ट्रपति अब्राहम लिंकन (१८६१–१८६५) लाई एक सांस्कृतिक कार्यक्रममा कलाकारहरूद्वारा नै मारिए। ती हत्याराहरू दास व्यवस्थाका पक्षपाती र प्रतिगामीहरू थिए। त्यो एक षड्यन्त्र थियो। 

त्यस्तै २० औं अमेरिकी राष्ट्रपति जेम्स ए. गार्डफिल (१८८१) निर्वाचनमा विजय घोषणाको तत्कालै मारिए। २५ औं राष्ट्रपति विलियम माक्कीनली (१८९७–१९०१) पनि मारिए। अमेरिकाको इतिहासमा सबभन्दा कम उमेरका ३६ औं राष्ट्रपति जोन.एफ. केनेडी (१९६१–१९६२) दिउँसै खुला कारमा सारा जनताको अगाडि 'सवारी' कै अवसरमा गोली हानी मारिएका थिए। 

राष्ट्रपति निक्सन (१९६९–१९७४) वाटरगेट भनिने भवनमा प्रतिपक्षी दलको सूचना चोर्न लगाएको आरोपमा सारा प्रचारमाध्यम लागेपछि महाअभियोगबाट बच्न राष्ट्रपति पदबाट राजीनामा दिन बाध्य भए। राष्ट्रपति क्लिन्टनको एक यहुदी केटी मोनिका लेवेन्स्कीसँगको यौन काण्डको कारण राजीनामा गर्न बाध्य भए। 

जो आगोसँग खेल्छ आगोमै मर्छ र जो पानीसँग खेल्छ पानीमै मर्छ भनेजस्तै संरा अमेरिकाले जहाँ जहाँ आफ्नो हैकम चलाउँछ त्यहाँ त्यहाँ हत्या र हिंसाकै व्यापार गर्छ। सन् १९६० मा दक्षिण कोरियाको राष्ट्रपति सिंगमन रिलाई संरा अमेरिकी प्रशासनले नै हत्या गर्न लगायो र दक्षिण भियतनामी राष्ट्रपति थ्यु कीलाई पनि अमेरिकी प्रशासनले नै हत्या गराएको थियो। आखिर संरा अमेरिका इज्जत जोगाउन नपाउँदै आफ्नो झोला–टुम्बा बोकेर भियतनामबाट भाग्न बाध्य भयो। हत्या–हिंसा, विद्रोह र सत्तापलटको मातमा लागेको अमेरिकी साम्राज्यवाद उत्तर–पूर्वी एसियामा होस् वा मध्य–पूर्वमा होस् युद्धको व्यापार गर्दैछ, अब ऊ दक्षिण अमेरिकादेखि दक्षिण एसियासम्मै 'आफ्नै आँगन' सम्झने मुनरो नीतिमा अगाडि बढ्दै छ। संसारका सबै 'म नै हुँ' भन्ने सम्राट र साम्राज्य विश्वका जनताको सजायबाट मुक्त भएका छैनन् – नेपोलियम होस् वा मुसोलिनी र हिटलर होस्, आफ्नो साम्राज्यमा सूर्य नडुब्ने बेलायत होस् सबै साम्राज्यहरू आफ्नै कर्तुतको प्रायश्चित भोग्छन्। 

एसियामाथि संरा अमेरिकाले २०० वर्षमा गरेको पापको फलबारे उत्तर कोरियाले हिसाब खोज्दै गरेको बेला अमेरिकी साम्राज्यवाद आफ्नो नानीदेखि लागेको हत्याको घृणित र तुच्छ व्यक्ति हत्याको राजनीतिमा उत्रँदै छ र दक्षिण कोरियामा 'शिर छेदन' टोली तयार गरी उत्तर पठाउने गल्ती गर्दैछ। 

सम्भवतः आफ्नो सीमामा बस्न नचाहने राष्ट्रपति ट्रम्पबारे कर्मचारीतन्त्र कायल हुँदैछ र लहडी वा सन्की खालको राष्ट्रपतिको स्वभावले गर्दा कहीं अमेरिकामै प्रतिगामी अमेरिकी तत्त्वले आफ्नै नाइकेको बलिदान खोज्दै त छैन, प्रश्न उठ्नु स्वाभाविक छ। व्यक्ति हत्या वा हिंसा र हत्या राजनैतिक समाधान होइन भन्नेबारे संवेदनशील अमेरिकी जनता र बुद्धिजीवी समुदाय अवगत छन् र ट्रम्पको स्वभावबाट वाक्क–दिक्क हुँदैछन्। आशा गरौं – समयले ट्रम्पलाई ठाउँमा ल्याउनेछ।