January 20, 2018

सम्पादकीय

बाँकि सम्पादकीय
 

अध्ययन र रचनात्मक गतिविधिमा ध्यान देऔं

घटस्थापनाको दिन घर–घर र मन्दिरमा जमरा राख्दै दसैं प्रारम्भ भएको छ। यसै दिनदेखि शक्ति पीठहरूमा मेला लाग्छ। असत्यमाथि सत्यको विजय ठान्ने दसैंको खुसियालीमा अत्यधिक खर्च हुँदै आएको यथार्थ हो। भोजभतेरमा हुने अत्यधिक खर्चलाई बढावा दिनु मनासिब होइन। आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई भन्ने भनाइलाई चरितार्थ बनाइनु ठीक हुँदैन। खानपानमा गरिने अत्यधिक खर्चलाई नियन्त्रण गरिनुपर्छ। बरू त्यो खर्च आफ्ना सन्तानहरूको पढाइमा जोड दिइनुपर्छ, ज्ञानको क्षितिज फराकिलो बनाउन किताब किन्ने र पढाउनेतर्फ ध्यान दिइनुपर्छ।  

यही दसैंमा गरगहना लगाएर देखासिकी गर्ने प्रवृत्ति बढ्दो छ। यसैबेला चोरी चकारी र डकैती बढी हुन्छ।  आकर्षणको नाउँमा सजाइने गरगहनाले सामाजिक अपराधीहरूको आँखा गड्छ। यसले विशेषगरी महिलाहरू असुरक्षित हुन्छन्। चाड पर्वमा असुरक्षित भएको खबर बेलाबखत नआएको पनि होइन। गहना लाएर कसैको इज्जत बढ्ने होइन। यसकारण यो बेला नागरिकहरूको सुरक्षाको लागि सरकारले सुरक्षा व्यवस्था बढाउनुपर्छ। नागरिकहरू पनि यसतर्फ सचेत हुनुपर्छ।  

दसैंमा सङ्घ–संस्था, सरकारी कार्यालय, स्कूल र कलेजमा बिदा हुन्छ। बिदामा भएको फूर्सदलाई कति युवाहरू जुवा–तास खेल्छन्, जुवा–तास खेलेर समय बिताउँछन्, जुवा–तास खेल्न नै पहिलेदेखि पैसा जुटाउँछन् र पैसा नजोडे गरगहना बेचेर हैरान पार्छन्। कति त दसैंमा जुवा–तास खेल्न पाइएन भने दसैं नआएको जस्तो या राम्ररी मान्न नपाएको अभिव्यक्ति दिन्छन्। केही युवाहरूको यस्तै जिद्दीले घर–परिवारको गहना र सम्पत्ति स्वाहा भएका बग्रेल्ती उदाहरण नभएको होइन। यसले घर परिवारमा झै–झगडा भएर परिवारका सदस्यहरूबीच बैमनस्यता बढेको गुनासो पुरानो होइन। यसबारे युवा र घर परिवारका सदस्यहरू चनाखो हुनुपर्छ।  

दसैं अवधिभरको समयलाई सदुपयोग गर्नुपर्छ। आ–आफ्नो समय रचनात्मक गतिविधिमा खर्च भए यसले समाजमा राम्रो सन्देश जानेछ। गलत बाटोमा लाग्ने व्यक्तिहरूलाई यसले खबरदारी गर्नेछ। यो नयाँ पुस्ताको लागि थप शिक्षा हुनेछ र कुलतमा जान रोकिनेछ। यो बेला समसामयिक विषयमा पुस्तक अध्ययन गर्ने, अध्ययन गराउने र त्यसबारे अन्तरक्रिया गराउने काम गर्नु उपयुक्त हुनेछ। यसले अध्ययन गर्ने बानीको विकास गर्नेछ। बौद्धिक विकासमा टेवा पुग्नेछ। घर आँगन सरसफाइ गर्ने, शुभकामना आदानप्रदान गर्ने र शुभकामना आदानप्रदानमा समाजमा देखिएका विकृति र विसङ्गतिबारे युवा र नयाँ पुस्तालाई सचेत पार्ने काम गर्नुृ बुद्धिमानी हुनेछ।  

कामको खोजीमा जिल्ला र मुलुक बाहिर छिरेका घर परिवारका सदस्यहरू यही बेला आ–आफ्नो घर–घरमा फर्कन्छन्। सबै सदस्यहरू सँगै बस्ने, भेटघाट गर्ने अवसर पनि हो दशंै। आ–आफ्ना परिवारका सदस्यहरू सँगै बसेर दुःख–सुख बाँड्ने, आशीर्वाद लिनेर दिने यो दसैं कसैको लागि दसा नहोस्, यही कामना छ।