January 20, 2018

सम्पादकीय

बाँकि सम्पादकीय
 

प्रचण्डको साम्यवादः ध्वाँस र पाखण्ड

कोहलपुरमा आयोजित 'पार्टी प्रवेश कार्यक्रम' मा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी दश वर्षमा नेपाली समाज साम्यवादी बन्ने विचार व्यक्त गरे। (अनलाइन खबर, ८ असोज) प्रचण्डले एक जना 'भावुक' नेताको छवि बनाएका छन्। साथै स्रोताको मनोभावनाअनुसार कुरा फेरी फेरी बोल्ने सामर्थ्य राख्ने नेताको रुपमा पनि जनताले उनलाई चिनेका छन्। त्यही भएर कति मानिस उनको कुरामा एकैबाजी विश्वास पनि गरिहाल्दैनन्। 

२०६४ सालमा भक्तपुरमा आयोजित एक चुनावी जनसभामा प्रचण्डले 'नेपालमा समाजवादी समाज आगामी दुई वर्षमा पनि नआउने' घोषणा गरेका थिए। त्यतिबेला उनको त्यो भनाई नेपाल मजदुर किसान पार्टीले चलाइरहेको समाजवादी प्रचार अभियानप्रति लक्षित थियो। ठीक दश वर्षपश्चात प्रचण्डले नेपालमा साम्यवादी समाज आगामी एक दशकमा आउने घोषणा गरेका छन्। 

साम्यवादी समाजको परिकल्पना काल्पनिक समाजवादीहरुले गरेका थिए। समयान्तरमा कार्ल मार्क्सले वैज्ञानिकताको धरातलमा साम्यवादी समाजको अवश्यम्भाविता र अपरिहार्यताको दर्शन दिएर मानव समाजलाई दिशानिर्देश गरे। पूँजीवादी व्यवस्थाको पतन पछि समाजवादको ऐतिहासिक युग छिचोलेर बन्ने वर्गविहीन र राज्यविहीन समाज नै सारमा साम्यवाद हो। हरेक सच्चा कम्युनिष्ट पार्टीको लक्ष्य शोषणरहित साम्यवादी समाज स्थापना गर्नुहुने गर्दछ। तथापि आजसम्म संसारमा कुनै पनि देशमा साम्यवादी समाज स्थापना भएको छैन र साम्यवादी समाजको स्थापनाको यात्रा यथार्थतः लामो पनि छ। 

तर नेपालमा नौलो जनवादी व्यवस्था स्थापना गर्न दस वर्ष सशस्त्र युद्ध गरेर अन्ततः भारतीय बिस्तारवादको सेवकमा पतन भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले फेरि जनता झुक्याउन अर्को पासो राख्न खोज्दैछन्। प्रदेश नं २ को चुनावमा 'सन्तोषजनक' नतिजाको कारण भावुक भएर हुनुपर्दछ, उनले एकै दशकमा साम्यवाद आउने सपना देखे। संविधानमा उल्लेख भएको समाजवादी अधिकारसमेत जनतालाई दिन तयार नभएका पूर्वप्रधानमन्त्रीले साम्यवादको कुरा गर्नु आफैमा झूटको बिस्कुन हो। कहिले दुई वर्षसम्म समाजवादी नआउने कुरा गर्ने अनि कहिले एक दसकमा साम्यवाद आउने कुरा गर्ने मानिस या त मानसिक रोगी हो नभए अल्पज्ञानताको परिणाम हो। के प्रचण्डलाई साम्यवाद र समाजवाद अनि मानव समाजको विकासक्रमबारे न्युनतम ज्ञान पनि नभएको हो? 

सत्तामा हुँदा भारतको ताबेदारी गरी नेपालको परराष्ट्र मामला सबै भारतको शरणमा बिसाउने अनि सत्ताबाहिर हुँदा जनतालाई साम्यवादको सपना बाँड्दै हिंड्नु पाखण्ड, झुठ र बद्नियत अवसरवादको पराकाष्ठा हो। बोल्न पायो र सुन्ने छन् भनेर जे पायो त्यही बोल्नु प्रचण्डको हलुका राजनीतिक चिन्तनको द्योतक हो। 

नेपाली जनताले को नेता कस्तो र तिनलाई नेता बनाउने वा नबनाउने भन्ने कुराबारे सुझबुझ राख्न जरुरी छ ।