January 20, 2018

सम्पादकीय

बाँकि सम्पादकीय
 

सत्ता स्वार्थको लागि एकता

नेपालमा कम्युनिष्ट पार्टीहरूको पथप्रदर्शक मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा हो। मार्क्सवाद र लेनिनवादको सिद्धान्तलाई मार्गनिर्देशक बनाएर कम्युनिष्ट पार्टीहरू एउटा न एउटा विचार, दर्शन र सिद्धान्तको आधारमा चलिरहेको हो, चल्नुपर्छ। कम्युनिष्ट पार्टीहरूबीच एकता हुनु गलत होइन। तर एकता सिद्धान्तको आधारमा हुनुपर्छ। असोज १७ गते एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच ६ बुँदे सहमति भयो। सहमतिमा मंसिर १० र २१ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभामा आपसी तालमेल गर्ने र साझा घोषणापत्रको आधारमा निर्वाचन लड्ने कुरा उल्लेख छ। प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपश्चात् विधिवत पार्टी एकता सम्पन्न गर्ने कुरामा पनि तीन पार्टीबीच सहमति भएको छ। त्यस्तै छरिएर रहेका सबै कम्युनिष्ट तथा वामपन्थी पार्टी तथा समूहहरूलाई पनि एकीकरणको प्रवाहमा समाहित हुन अपिल गर्ने अर्को बुँदा रहेको छ।  

पार्टी एकता भन्नु र कम्युनिष्ट पार्टीहरूबीच एकता भन्नु भिन्नै कुरा हो। कम्युनिष्टहरू आमूल परिवर्तनका पक्षधर हुन्। आमूल परिवर्तन गर्न उनीहरू वर्गसङ्घर्ष गर्छन्। वर्गसङ्घर्ष मुख्य शत्रुविरूद्ध गरिएको हुन्छ। के अब एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी वर्गसङ्घर्षको बाटोमा लाग्छन्, वर्गसङ्घर्ष बाटो रोजेर आमूल परिवर्तनको लागि लड्छन्? के समाजवादी क्रान्तिको निम्ति पार्टी एकता भएको हो? श्रमजीवी वर्गको जनताको प्रतिनिधित्व गर्न या वर्तमान सङ्घीय पूँजीवादी सरकार फालेर वैज्ञानिक समाजवाद ल्याउन ती दलहरू तयार हुन्छन्?  

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीको एकता सरकारमा जानको लागि भएको हो, बहुमतको सरकार गठनको लागि भएको राजनीतिक पर्यवेक्षकहरूको भनाइ रहेको छ। सरकारमा बहुमत ल्याउन पार्टीबीच एकता भएको हो भने त्यो कसरी कम्युनिष्ट पार्टीहरूको एकता हुन्छ? यो सत्ता गठबन्धनको खेल हो। सबैलाई थाहा छ – बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँ शक्ति पार्टी कम्युनिष्ट पार्टी होइन। त्यस पार्टीमा कम्युनिष्ट सिद्धान्त, विचार र दर्शनको कुनै गन्ध छैन। नेता भट्टराई माओवादीबाट अलग भएर अर्को नयाँ दल गठन गर्दा माओवादीसँग कहिल्यै एकता नहुने अभिव्यक्ति प्रकाशमा आएको थियो। सिद्धान्तहीन एकता स्थिर हुनेछैन, भरपर्दो हुँदैन। कम्युनिष्ट पार्टी भनिने ठूला दल एमाले र माओवादी केन्द्रले समाजवादउन्मुख संविधान बनाएनन्, बनाउने अभ्यासै गरेनन्। ती दलका नेताहरूलाई सत्ताको भोको छ, सरकारको नेतृत्व गरेर देशको राज्य कोषमा राइँदाइँ गर्न पल्केको छ। अतः ती दलको एकताभित्र सत्ता स्वार्थ रहेको छ। सत्ता स्वार्थ पूरा गर्न नै ती दलबीच तालमेल र एकताको सहमति भएकोमा शङ्का छैन।