January 20, 2018

सम्पादकीय

बाँकि सम्पादकीय
 

ठूलो दल बन्दैमा देश समृद्ध र आत्मनिर्भर बन्दैन

एमाले, माओवादी केन्द्र र जनशक्ति पार्टी नेपालको चुनावी तालमेलको तयारीसँगै गठन गरिएको घोषणापत्र मस्यौदा कार्यदलले भावी नेपालको खाका कोरिरहेको समाचार जानकारीमा आएको छ। भावी नेपालको खाकामा राष्ट्रिय स्वाधीनतासहित समृद्ध मुलुक, आत्मनिर्भर र समुन्नत मुलुक बनाउने चर्चा छ। ती दलले यस्तो खाका पहिले नकोरेका होइनन्। नयाँ नेपाल बनाउने नारा तिनै दलले दिएका हुन्। पार्टीको घोषणापत्रमा कोरिएका त्यस्ता आकर्षक नारा कागजमै सीमित रह्यो। 'नयाँ नेपाल' हात्ती आयो आत्ती आयो फुस्सा भयो। अहिले कोर्न लागेको भावी नेपालको नारा पनि जनताको मत खिच्ने या तान्ने अर्को लोभ होइन भन्न सकिंदैन। 

भावी नेपालको खाका कोर्न दलले सबभन्दा पहिले आ–आफ्नो दलको विधान संशोधन गर्नुपछ। दलको विधानमा मार्क्सवादी र लेनिनवादी नीतिअनुसार वर्गसङ्घर्ष गरेर समाजवादी क्रान्ति गर्ने कुरा उल्लेख गर्नुपछ। विधानमा उल्लेख भएको नीति तथा नियम व्यवहारमा ल्याउन कम्युनिष्टको सिद्धान्त र विचार जनतामाझ पुर्‍याउनुपर्छ। जनतालाई सिद्धान्तनिष्ठ बनाइनुपर्छ। आमूल परिवर्तनको लागि तयारी गर्नुपर्छ। तर ती दलका नेताले विगतको निर्वाचनमा कहिले पनि मार्क्सवाद र लेनिनवादको कुरा उठाएनन्, कम्युनिष्ट र पूँजीवादी पार्टीबीचको भेदबारे जनतालाई जानकारी दिएनन्। निर्वाचनमा सिद्धान्त र विचारको प्रचार गर्नुभन्दा आरोप प्रत्यारोपमा सीमित रह्यो। अहिले मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि आफ्नो दल ठूलो बनाउने र बहुमत प्राप्त सरकार गठन गर्ने कुराबाहेक अर्को उठाउँछ कि उठाउँदैन? शङ्काको विषय छ। 

कम्युनिष्ट पार्टीका सच्चा कम्युनिष्टहरू समाजवादी क्रान्ति गरेर बहुमत जनताको हितमा राजनीति गर्ने दलका नेताहरू यतिबेला सतर्क र गम्भीर हुनुपर्छ। चुनावी तालमेल र पार्टी एकताले दल ठूलो हुन्छ, ठूलो दलको नेतृत्वमा सरकार बन्छ र समृद्ध नेपाल बन्छ, आत्मनिर्भर देश बन्छ भनी लहैलहैमा जान्छ भने नेपालको कम्युनिष्ट आन्दोलन र पार्टी गलत बाटोमा फसिरहेको छ भन्ने बुझ्नुपर्छ। पार्टी ठूलो भएपनि ठूलो दलको नेतृत्वमा सरकार बने पनि मुलुक समृद्ध बन्दैन, मुलुक आत्मनिर्भर हुँदैन। 

गठबन्धन र पार्टी एकताको नाउँमा कुनै दलका नेताले झूटको खेती गरेर जनताको मत तान्ने काम गर्छ भने त्यस दलभित्रका इमानदार, सच्चा कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूले विद्रोह गर्नुपर्छ, समाजवादी क्रान्तिको बाटोमा हिँड्ने नेता तथा कार्यकर्ताले क्रान्तिकारी धार छोड्ने नेता तथा कार्यकर्ताहरूको भण्डाफोर गर्नुपर्छ, सच्चा कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूको अर्को छुट्टै भेला बोलाउनुपर्छ। कम्युनिष्ट पार्टी जोगाउने कम्युनिष्ट पार्टी बलियो बनाउने माओवादीभित्र थुप्रै गोपाल किँरातीहरू जन्मिनुपर्छ कम्युनिष्टको नाउँमा कम्युनिष्ट पार्टीको बद्नाम गर्ने, सिद्धान्त तोडमोड गर्ने नेता तथा कार्यकर्ताहरूलाई जनतामाझ उदाङ्गो पार्नुपर्छ।