January 20, 2018

सम्पादकीय

बाँकि सम्पादकीय
 

भ्रष्टाचार र विकृति पूँजीवादी व्यवस्थाको छाया

हिजोको बहुदलीय प्रजातन्त्र र आजको लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्थामा कुनै तात्त्विक भिन्नता भएको अनुभूति नेपाली जनताले गर्न पाएका छैनन्। दुवै व्यवस्था धनीमानी र पहुँचवालाहरूको मात्र राज चल्ने पूँजीवादी व्यवस्था भएकोले पात्र र परिवेश केही भिन्न भए पनि व्यवस्थाका सञ्चालक वा शासकहरूको प्रवृत्ति उही नै छ। हिजो दरवार र दरवारियाहरू पनि थिए र शासक दलहरू पनि। तिनीहरूको आडमा अनियमितता, भ्रष्टाचार, घूसखोसी, अवैध व्यापार, तस्करी, ठगी, आदि हुन्थे। आज त्यही दुष्कार्य सरकारमा पुगेका र रहेका पार्टी र पार्टीका नेताहरूको छत्रछायामा भइरहेको छ। नेपालका शासक पार्टीहरू आज गुण्डा, तस्कर, ठग, भ्रष्ट र घूसखोरहरूलाई संरक्षण गर्ने नयाँ दरबार र नयाँ सामन्त बनेका छन्। त्यसैले हिजोसम्म ती शासक पार्टीहरूको गुणगान गाएर नथाक्ने कतिपय बौद्धिक व्यक्तित्त्वहरू आज नेपाली राजनीतिको भ्रष्टीकरण भयो भनी सुस्केरा पोखिरहेका छन्। शासक पार्टीका नेताहरूको देश र जनताप्रतिको विश्वासघातका कारण नेपालको राजनीतिको भ्रष्टीकरणमात्र भएको छैन, विकृतिको चरमोत्कर्षमा पुगिरहेको छ। एक जना राजनीतिशास्त्रीको निचोड छ – निकृष्ट ढङ्गको व्यक्तिगत स्वार्थले राजनीतिलाई निलेको छ। राजनीतिको अपराधीकरण भएको छ। शासक पार्टीका नेताहरूले अपराधी र गुण्डाहरूलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिन गुप्तरूपमा संरक्षण गर्ने गरेको तथ्य पुरानो भइसक्यो। अब त त्यस्ता अपराधी र गुण्डाहरूलाई पार्टीको नेता घोषित गर्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारीको निम्ति टिकटसमेत दिन थालिएको छ। अब त राजनीतिको अपराधीकरण भएर राजनीति नेताका संरक्षणमा अपराधीहरू छन् कि अपराधीहरूको संरक्षणमा नेताहरू? भन्ने प्रश्न उठ्न थालेको छ। लमो समयदेखि गुण्डागर्दी, अवैध रकम असुली, मानव तस्करीमा लागेर अकुत सम्पत्ति आर्जन गरेका अपराधी पूँजीवादी पार्टीका नेताहरूका दाहिने हातसरह भएका छन्। यस्ता अवैध र  स्रोत नखुलेका अकूत कालो धनका मालिक बनेकाहरूलाई नै नेता बनाउन थालिएको छ। त्यस्तै एक पथभ्रष्ट पार्टीका एक नेता पोल खोल्छन् – राजनीतिक बजारमा पसेर जसले तरक्की गर्न, पैसा जम्मा गर्न सक्छ ऊ नै नेता हुने भइसक्यो। यस्तो बजारले विचारधारा र आदर्श हेर्दैन।  

यसको अर्थ नेपालको पूँजीवादी व्यवस्था भ्रष्टताको उत्कर्षतिर उक्लँदैछ। पूँजीवादी व्यवस्था जति जति विकास हुँदै जान्छ भ्रष्टाचार र विकृति विसङ्गति पनि उत्तिकै बढ्दै जाने विभिन्न देशको इतिहासले छर्लङ्ग पारेको तथ्य हो। किनभने भ्रष्टाचार र विकृति–विसङ्गति पूँजीवादी व्यवस्थाको छाया नै हो। पूँजीवादी प्रजातन्त्र र लोकतान्त्रलाई साध्य मान्ने हो भने हामीले कहिल्यै ती पूँजीवादी विकृति–विसङ्गतिबाट मुक्ति पाउन सक्दैनौं। तसर्थ पूँजीवादी व्यवस्थालाई मिल्काएर क्रान्तिकारी कामदार वर्गको नेतृत्वमा समाजवादी व्यवस्था स्थापनाका निम्ति अघि बढ्नुको विकल्प छैन।