January 20, 2018

सम्पादकीय

बाँकि सम्पादकीय
 

चिनियाँ कम्युनिष्ट पार्टीलाई शुभकामना !

चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) ले पार्टीको १९ औं राष्ट्रिय महाधिवेशन आज अक्टोवर १८ तारिखदेखि राजधानी पैचिङ्गमा गर्दैछ। आजको अन्तर्राष्ट्रिय राजनीतिमा चीन एक विश्व शक्तिको रुपमा र एक महत्त्वपूर्ण आर्थिक शक्तिको रुपमा स्थापित भइरहेको अवस्थामा हुन गइरहेको चीनको सत्तारुढ पार्टीको महाधिवेशन भएकोले यसको विशेष महत्त्व रहेको छर्लङ्ग छ।  

चिकपाको १९ औं महाधिवेशनमा हाल कार्यरत पार्टीको १८ औं केन्द्रीय समितिको तर्फबाट कार्य प्रगति प्रतिवेदन चिकपाको केन्द्रीय अनुशासन निरीक्षण आयोगको प्रतिवेदन तथा चिपकाको विधान संशोधन प्रस्ताव पेश गरिनेछ, छलफल चलाइनेछ र पारित गरिने छ।  त्यसबाहेक चिकपाको नयाँ केन्द्रीय समिति, पोलिटव्युरो र पोलिटव्युरो स्थायी समिति निर्वाचित गरिने छ। चिकपा पोलिट व्युरोका मुख्य नेताहरू र सदस्यहरू नै चीनको राज्य र सरकारका मुख्य मुख्य पदमा निर्वाचित हुने परम्परा रहेकोले पनि चिकपाको महाधिवेशन अझ महत्त्वपूर्ण हुन पुगेको हो। तर पश्चिमा सञ्चारमाध्यमले प्रचार गरेजस्तो र पश्चिमा शैलीको सरकार र पार्टी नेतृत्व चयन गर्ने 'घाँटी छिनाल्ने प्रतिस्पर्धा' त्यहाँ हुने गर्दैन। चिकपा केन्द्रीय समितिले गहन विचार विमर्श गरी पृष्ठभूमि जाँच गरी योग्यता परख गरी मुख्य मुख्य नेता चयन गरिसकिएको हुन्छ।  

चिकपाले मार्क्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधारा, तेङ स्याओफिङ सिद्धान्त, तीन प्रतिनिधित्व र विकासमाथि वैज्ञानिक दृष्टिकेाणको सिद्धान्तलाई मार्गदर्शक सिद्धान्तको रुपमा अङ्गीकार गरी देशमा चिनियाँ विशेषताको समाजवादी विकासमा जोड दिइरहेको छ। चिकपा र चिनियाँ सरकारले पार्टी स्थापनाको शत वार्षिकी सन् २०२१ सम्ममा चिनियाँ समाजलाई मध्यम रुपले समृद्ध समाज बनाउने र गरिबी पूर्णतया अन्त्य गर्ने लक्ष्य लिएको छ। त्यस्तै चिनियाँ जनगणतन्त्र स्थापनाको शत वार्षिकी २०४९ सम्ममा चीनलाई समृद्ध समाज बनाउने लक्ष्य लिएको छ। त्यसको निम्ति चिकपाले देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक र पर्यावरणीय प्रगतिलाई बढावा दिने नीतिलाई प्रभावकारी रुपमा लागू गरिरहेको छ। चीनको संसारकै सबैभन्दा तीव्र रहेको आर्थिक वृद्धिदर कायमै रहने सुनिश्चितता गर्दै चीनको आर्थिक प्रगतिबाट साझेदार देशहरूलाई पनि लाभान्वित बनाउने नीति अगाडि सारेको र लागू गरेको छ। एक्काइसौं शताब्दीको रेशम मार्ग र एक क्षेत्र एक मार्गको अवधारणा चीनको आर्थिक प्रगतिबाट विश्वलाई नै लाभान्वित बनाउने युगान्तकारी र दूरदर्शी सोच हो।  

यस अवस्थामा हुन गइरहेको र चिनियाँ जनता र विश्वकै भाग्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने चिकपाको १९ औं महाधिवेशनको सफलताको कामना गर्नु अन्यथा नहोला। महाधिवेशनबाट निसृत हुने  नीति तथा कार्यक्रम र निर्वाचित हुने नयाँ नेतृत्वले चिनियाँ जनताको साथै विश्वकै जनताको हितमा अझ उच्च योगदान पुर्‍याउन सकोस् भनी नेपाली जनताको तर्फबाट हार्दिक शुभकामना !