October 24, 2017
प्रमुख समाचार

तीन दल अप्रजातान्त्रिक र युद्ध सरदार प्रवृत्तिका

भक्तपुर, ३० असोज। 'तीन ठूला दलका अप्रजातान्त्रिक र युद्ध सरदार प्रवृत्तिका कारण जनताले लोकतन्त्र र गणतन्त्रको अनुभूति गर्न पाएनन्। संसदको भूमिका हुन्छ र हुन्न भन्नेमात्र भयो। हरेक निर्णय तीन दलका शीर्ष नेता र तीनदलीय संयन्त्रले गर्ने भयो। संसद र अरू पार्टीका सांसदहरूले छलफल गर्ने र सुझाव दिने मौकासम्म पनि राम्ररी पाएनन्।' 

उपर्युक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सोमबार बिहान मेट्रो एफएममा पत्रकार श्रीकृष्ण महर्जनसितको कुराकानीमा व्यक्त गर्नुभएको हो।  

संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका–संसदको अन्त्य भयो, –तपाई र तपाईंको पार्टीको अनुभव के रह्यो? भन्ने प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेंले भन्नुभयो –'संविधानसभाबाट संविधान नै जारी गर्न नदिई असफल पार्न र विदेशबाट संविधान दिन खोजिएको थियो। त्यसलाई चिर्दै संविधानसभा आफैले संविधान निर्माण गर्‍यो, संविधानमा नेमकिपाको ७१ बुँदे असहमति हुँदाहुँदै हामीले त्यसलाई पारित गर्न साथ दियौं।  

रूपान्तरित संसदको भूमिका चित्तबुझ्दो थिएन। सरकारले ल्याएका विधेयकहरूमाथि खुलेर छलफल नै गर्न दिइएन। सांसदहरूलाई बोल्ने समय ३ र ५ मिनेटमात्र दिने गरिन्थ्यो, त्यति समयमा त समस्याको विषयमात्र राख्दैमा जान्थ्यो, विधेयकमा प्रवेश गर्ने समय नै हुँदैनथ्यो। सदनमा शून्य समय, ध्यानाकर्षण र प्रश्नोत्तरको निम्ति समय नै दिइएन। विशेष समयमा उठाइएका विषयमा पनि सरकार र मन्त्रीले जवाफ दिनुपर्ने आवश्यकता देखेनन्। कतिपय विधेयक त सदनको गणपुरक सङ्ख्या नपुगेकै अवस्थामा पारित गरियो। प्रमुख प्रतिपक्ष एमाले लाचार र अकर्मण्य बन्यो, कुनै आवाज उठाइएन। हरेक निर्णय तीन दलको संयन्त्रले गर्ने तानाशाही पद्धतिको अभ्यास गरियो।  

संसदमा बहुमत भएका पार्टीहरूले गरेको निर्णयलाई तानाशाही भन्न मिल्छ र भन्ने प्रश्नमा उहाँले भन्नुभयो – संसदमा बहुमत छ भन्दैमा मनपरी गर्न पाइन्छ भन्नु सही होइन। पूँजीवादी प्रजातन्त्र भएका देशका उदाहरणले नै प्रस्ट हुन्छ। संसदीय प्रणालीको जननी मानिने बेलायतमा पूर्ण संसदमा नै व्यापक छलफल गराइन्छ भन्ने संरा अमेरिकामा संसदका विषयगत समितिहरूमा व्यापक छलफल गरिन्छ र सदनमा सामान्य छलफलपछि मतदानमा लगिन्छ र सदनमा सामान्य छलफलपछि मतदानमा लगिन्छ। तर, हाम्रो देशमा कुनै पनि प्रणालीअनुसार काम गरिएन, गर्न दिइएन। संसदलाई महत्त्वहीन बनाउने दुष्कार्य शासक दलहरूबाट भयो। 

ठूला दलहरूसित नेमकिपाका मतभेदहरू केके हुन्? भन्ने प्रश्नमा अध्यक्ष बिजुक्छेंले भन्नुभयो – तिनीहरू पूँजीवादी पार्टी हुन् र नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत छ। सैद्धान्तिक भिन्नतामात्र होइन अन्य धेरै विषयमा हाम्रो मतभेद छ। पहिले सदनमा प्राकृतिक स्रोत–साधनसम्बन्धी सम्झौता संसदको दुईतिहाइ बहुमतले पारित गर्ने बन्दोबस्त थियो। यी पार्टीहरूले विदेशीको मागअनुसार लगानी बोर्ड बनाए र त्यसले संसदलाई जानकारी नै नदिई प्राकृतिक स्रोत–साधन विदेशी सरकार र कम्पनीलाई दिनसक्ने भयो। लगानी बोर्डलाई नेपालको असीमित भूभाग सय वर्षसम्मको लागि विदेशी कम्पनीलाई लिजमा दिन सक्ने भयो। नेमकिपाले देशको स्वाधीनताविरोधी त्यस प्रावधान र लगानी बोर्डको विरोध गर्‍यो। सिंहदरवारमा विदेशी बैङ्क राख्ने, त्यसबाट कारोबार गर्ने कुराको पनि विरोध गर्‍यौं। त्यसले हाम्रा सांसद, मन्त्री र कर्मचारीहरूको सम्पूर्ण विवरण विदेशीको हातमा पुगेको छ।  

विदेशी सहयोग लिने कुरामा पनि नेमकिपाको असहमति रहेको बताउँदै अध्यक्ष बिजुक्छेंले संसदलाई विदेशी पैसाले चलाएको, संसदको अफिसका मेच, टेबुल, टेलिभिजन राख्नसमेत विदेशी सहयोग लिएको र विदेशी सहयोगका सम्बन्धमा शासक दल र सरकारहरूले आफूलाई अघोरी बाबा नै सावित गरेको बताउनुभयो।   

शासक दलहरूले थ्रेसहोल्ड लाडेर जनताको प्रतिनिधित्वमा रोक लगाउन खोजेको बताउँदै त्यसले नेमकिपालाई झन् बलियो बनाउने बताउनुभयो।  

'हिजोसम्म नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रलगायत शासक पार्टीहरू के हुन् भनी जनतालाई थाहा थिएन। थ्रेसहोल्ड लगाएर तिनीहरूले आफूले लगाएको प्रजातन्त्रवादीको मुकुण्डो च्यातेका छन्। जनतासामु उदाङ्गिदै छन्।' अध्यक्ष बिजुक्छेंले भन्नुभयो। 

 

 

 

बाँकि

नेपालि पात्रो

देश विदेश

 

सम्पादकीय

निर्वाचनमा सही दलका सही उम्मेदवार छान्नुपर्छ

बहुमत जनतामा अझै राजनीतिक चेतना र सांस्कृतिक स्तरको कमी छ। जनतामा राजनीतिक चेतनाको कमीले गर्दा निर्वाचनमा बहुमत जनतामाथि रजाइँ गर्ने दलहरू नै जितिरहेका छन्। अझै कति मतदाता पैसा या अन्य लोभलालचमा बिक्छन्, फस्छन् त कतिले लहैलहैमा कुनै उम्मेदवारलाई जिताउँछन्। जित्नेलाई मतदान गर्ने मतदाता या सर्वसाधारण जनताको सङ्ख्या पनि कमी छैन। कहिले नेका ठूलो दल, कहिले माओवादी केन्द्र ठूलो दल बन्नुको कारण जनता सचेत नहुनु नै हो। कुनै दलको सिद्धान्त र विचार बुझेर जनताले मतदान गरेका भए दलले पाएको मतमा आकास पातालको फरक हुँदैन।  

सिद्धान्त र विचारको आधारमा राखेको मत परिपक्व मत हो। त्यस्ता सचेत मतदाताहरूको भोट कसैको लोभलालचमा फस्दैन, पैसामा बिक्दैन। वास्तवमै मतदाताले सिद्धान्त र विचारकै आधारमा मतदान गर्नुपर्छ। आ–आफ्नो अमूल्य मत पैसामा बिकाउनु हुँदैन, पशुपक्षीजस्तै मतदाता बिक्नु हुँदैन। व्यापक जनता राजनीतिक रूपले सचेत र सङ्गठित नभएकैले पूँजीवादी दलहरूले राज गरिरहेका हुन्। अहिले मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला दलका नेताहरूले अहिलेदेखि पैसा खर्चको निम्ति जोहो गर्न थालेका छन्।  

पैसाको छेलोखेलो गरेर, धाक धम्की दिएर, लोभलालच देखाएर जितेका उम्मेदवारहरूले के देश र जनताको सेवा गर्छन्? कुनै दलले उठाएका उम्मेदवारहरू जनताको सेवा गर्न लायकका छन् कि छैनन्? जनताले चिन्तनमनन गर्नुपर्छ। जनताको सेवा नगरेका, जनताबीच नभिजेका दलका उम्मेदवार उठाउँदा या त्यस्ता उम्मेदवारलाई जिताउँदा कसरी असल जनप्रतिनिधि जित्छन्? नीति निर्माण गर्ने स्थानमा जो कोही व्यक्ति जित्दा राम्रो नीति पारित हुँदैन। कुनै सरकारले देशघाती र जनविरोधी नीति बनाए पनि मौन रहने या समर्थन गर्ने उम्मेदवारलाई जिताएर कसरी देशको भलो हुन्छ?  

मतदाताले जित्नेलाई मतदान गर्ने होइन। सही सिद्धान्त र विचार बोकेका दलका उम्मेदवारलाई हामीले मतदान गर्नुपर्छ र जिताउनुपर्छ। ठूला दलका नेताहरूको चर्तिकला हामीले धेरै हेरिसकेका छौं। भारतले आर्थिक नाकाबन्दी गरे पनि चुँ नबोल्ने दललाई हामीले मतदान गर्नुहुँदैन। नेपालको संविधान संशोधन गर्न दबाब दिने र दबाब दिए पनि चुप लागेर बस्ने दललाई मतदान गर्नुहुँदैन। सरकारको नेतृत्त्व गर्ने नाउँमा जो कोहीसँग मिल्ने र सिद्धान्त र विचार नै पाखामा थन्काएर राजनीति गर्ने दललाई हामीले मतदान गर्नुहुँदैन। हामीले कसैले बोलेको, दिएको अभिव्यक्ति भन्दा यसअघि देश र जनताको पक्षमा सङ्घर्ष गरेको छ कि छैन हेर्नुपर्छ। यसबारे देशभरका मतदाताले विचार गर्नुपर्छ र विचार गरेर सही दलका सही उम्मेदवारलाई जिताउनुपर्छ। 

बाँकि

समय सन्दर्भ

प्रमुख समाचार

asa

as

बाँकि समाचार