September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

अमेरिकी सहयोग 'राम्रो आस्था' का साथ नभएको इरानको दाबी

तेहरान, ३१ साउन। अमेरिकाले इरानको उत्तरपश्चिमी भागमा गएका दुई भुकम्पका पीडितलाई सहयोग उपलब्ध गराउने भनी राखेको प्रस्ताव इरानले बुधबार 'राम्रो आस्था' को साथ नआएको भनी अस्वीकार गरेको छ।
    गृहमन्त्रालयका सङ्कट व्यवस्थापन सङ्गठनका प्रमुख हसन घदामीले अमेरिकाले भूकम्प पीडितलाई उपलब्ध गराउने भनिएको मानवीय सहयोगको प्रस्तावलाई इरानले अस्वीकार गरेको बताउनुभयो भनी इर्ना समाचार संस्थाले उल्लेख गरेको छ।
    उहाँले अमेरिकाले यो सहयोगको प्रस्ताव राम्रो आस्थाका साथ नराखेको र अमेरिकी प्रतिबन्धका कारण इरानले औषधिको आपूर्तिमा समस्या भोगेको उल्लेख गर्नुभयो।
    उहाँले अमेरिकाले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गर्नुभयो।इरानमा शनिबार गएका दुई भूकम्पबाट तीन सय ६ व्यक्तिको मृत्युभएको तथा तीन हजार घाइते भएको बताइएको छ। अमेरिकाले एक विज्ञप्ति प्रकाशन गरी भूकम्पबाट प्रभावित जनतालाई समवेदना प्रकट गर्दै आफूले उनीहरूलाई कठिन समयमा सहयोग गर्न चाहेको उल्लेख गरेको छ।
    इरानले यसलाई अमेरिकी दोहोरो नीतिको रूपमा हेरेको छ र उसले अमेरिकाले उसलाई एक्लो पार्न सकेसम्मका प्रयास गरेको ठानेको छ।
    इरानको रेड क्रिसेन्टले जर्मनी, ताइवान तथा रसियाका सहयोग पनि अस्वीकार गरेको बताइएको छ। इरानमा कतार, पाकिस्तान, स्विजरल्यान्ड तथा अजरबैजानबाट सहयोग सामग्री आइपुगेका छन्।
    इरानमा शनिबार गएका भूकम्प ६.४ तथा ६.३ रेक्टर स्केलको भएको बताइएको छ। त्यसले ताब्रिज नजिकै पहाडी भागमा निकै प्रभाव पारेको बताइएको छ। 
एएफपी