September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

डढेलोविरुद्ध सन्देशमूलक तीजगीत प्रतियोगिता


    पोखरा, २ भदौ। जङ्गलमा डढेलो लाग्न नदिन र लागेपछि नियन्त्रणका उपायका सम्बन्धमा सन्देशमूलक तीजगीत प्रतियोगिता सम्पन्न भयो।
    सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीको हरियो वन कार्यक्रमको आयोजना तथा सरस्वती कुञ्ज प्रावि कास्कीकोटको व्यवस्थापनमा सम्पन्न सो प्रतियोगिताका सहभागी टोलीले वन विनास रोक्नुका साथै वृक्षरोपण र सुधारिएको चुल्होको प्रयोगमा गीतमार्फत जोड दिएका थिए।
    प्रतियोगितामा खोरियापानी सामुदायिक वन उपभोक्ता समूह प्रथम, चिलिमेडाँडा सामुदायिक वन द्वितीय, उचाल्नेढुङ्गा सामुदायिक वन तृतीय तथा वाम्दी भरि र लौरुक उत्तिसखोला सामुदायिक वनले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। 
    सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष कालीदास सुवेदीले प्रतियोगिताका विजयी टीम तथा कलाकारलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नेपाल सामुदायिक वनका रुपमा अन्तर्राष्ट्रियस्तरमा परिचित भइसकेको बताउनुभयो।
    हरियो वन कार्यक्रमका क्षेत्रीय संयोजक गङ्गा न्यौपानेले जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकका १९ जिल्लामा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिंदै कार्वन न्यूनीकरणका लागि वृक्षरोपण गरी जैविक विविधताको संरक्षण अपरिहार्य रहेको बताउनुभयो।
    अमेरिकी सहयोग नियोग 
(युएसआइडी) को आर्थिक सहयोग तथा वन्यजन्तु संरक्षण कोष, केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा संयुक्तरुपमा सञ्चालित हरियो वन कार्यक्रमको अवधि पाँच वर्ष रहेको छ।
    कार्यक्रम शिक्षक अभिभावक सङ्घका अध्यक्ष पदमबहादुर थापामगरको अध्यक्षतामा भएको थियो  । 
रासस