September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

ग्ााविसभरिका काम हेर्ने तीनजना

 सिमकोट (हुम्ला), ४ भदौ। गाविस, जिविसलगायत जिल्लाबाट गाउँमा जाने योजना र विकास निर्माणमा नागरिकका तर्फबाट निगरानी गर्न र सामाजिक लेखाजोखा गर्न गाविसले प्रतिव्यक्ति बर्सेनि रु. एक लाख रकम दिने गरी लिमी गाविसमा तीनजनालाई नियुक्त गरी काम सुरु गरिरहेको खुलासा भएको छ।
    जिल्लाको सबैभन्दा ठूलो लामा बस्ती भएको र चीनसँगको सिमानासँग जोडिएको लिमी गाविसमा रैथाने परम्पराअनुसार गाविसमा भएका तीन गाउँको प्रतिनिधित्व हुने गरी गाविस र जिविसको रकम सञ्चालन गर्न तीनजनालाई छनोट गरिएको उक्त गाविसका सचिव धर्मराज रोकायाले बताउनुभयो।
    गाउँमा जिल्लाबाट आएका सबै विकास निर्माणका योजना तथा कार्यक्रमलाई स्थानीय बासिन्दाका तर्फबाट निगरानी गर्न र व्यवस्थापन गर्नका लागि उनीहरूलाई छनोट गरिएको लिमीका स्थानीय बासिन्दाले बताएका छन्।
    निजहरूलाई एक वर्षमा प्रतिव्यक्ति रु. एक लाखका दरले स्थानीय बासिन्दाले पारिश्रमिकस्वरुप प्रदान गर्ने गरेको बताइएको छ। स्रोतका अनुसार लिमी गाविसका तीनवटै बस्ती तिल, हल्जी र जाङ्गमा एक एक जनालाई त्यसरी नियुक्ति गरिएको हो।  वार्षिक रु. एक लाख  सम्बन्धित गाउँले खर्च दिने गरी तिल गाउँमा छवाङ्दोर्जी लामा, हल्जी गाउँमा छिङ्तुन्डुप तामाङ र जाङ गाउँमा अङदु लामालाई गाउँलेले छनोट गरेका छन्। छनोट भएका तीनैजनाले गाविसभरिमा वर्षभरि आएका योजनाको व्यवस्थापनसमेत गर्दै आएको सचिव रोकायाले बताउनुभयो।
    तीनैजनाले गाविसभरिमा वर्षभरि आएका योजनाको व्यवस्थापनलगायत कुन व्यक्तिलाई उपभोक्ता समितिमा राख्ने र कसलाई कस्तो जिम्मेवारी प्रदान गर्ने भन्ने अन्तिम निर्णयसमेत गर्ने गरेको बताइएको छ। रासस