|
इथियोपियाका प्रधानमन्त्रीको निधन
आदिस अबाबा, ५ भदौ। इथियोपियाका प्रधानमन्त्री मिलेस जेनावीको निधन भएको छ। सरकारका प्रवक्ताले उहाँको निधन भएको समाचारको पुष्टि गरेका छन्। उपचारको क्रममा ब्रसेल्सको एक अस्पतालमा रहनुभएका प्रधानमन्त्री मिलेसको सोही अस्पतालमै निधन भएको सरकारी प्रवक्ताले जनाएका छन्। शक्तिशाली प्रधानमन्त्रीका रुपमा करिब दुई दसकदेखि सत्तामा रहनुभएका उहाँ दुई महिनादेखि बिरामी हुनुहुन्थ्यो। सरकारी अधिकारीहरुका अनुसार उहाँ विगत दुई महिनादेखि सार्वजनिक समारोहमा पनि देखिनुभएको थिएन। सरकारी प्रवक्ता बेरकेट सिमोनले सो अस्पतालमा प्रधानमन्त्री मिलेसको निधन भएको समाचार आज इथियोपियाका अधिकारीलाई दिएको समाचारमा जनाइएको छ। तर उहाँको रोगका बारेमा भने कुनै समाचार दिइएको छैन। उहाँ पन्ध्र दिनभन्दा लामो समयदेखि नै उपचारको क्रममा विदेशमा रहनुभएको बताइएको थियो। बेरकेटले भनेका छन्– उहाँलाई केही दिनयतादेखि निको भइरहेको थियो, तर अकस्मात सङ्क्रमण देखिएपछि तीनदिनअघि सघन उपचार कक्षमा लगिएको थियो तर चिकित्सकले उहाँलाई बचाउन सकेनन्। यसअघिका निरङ्कुश शासकको अन्त्यगरी प्रधानमन्त्री मिलेस सन् १९९१ मा सत्तामा आउनुभएको थियो। उहाँको निधनपछि इथियोपियाका उपप्रधानमन्त्रीले सरकारको कार्यभार लिनुहुनेछ। इथियोपियामा विद्रोह गरेको पूर्वलडाकू समूहका कमाण्डर मिलेस ५७ वर्षको मात्र हुनुहुन्थ्यो। सो विद्रोही समूह नै सन् १९९१ मा सत्तामा आएको हो। एएफपी
|